बैंकिङ खबर । कृषि विकास बैंकले कर्जातर्फ भारी छुट गरी बैशाख १ गतेबाटै कार्यान्वयनमा ल्याएको छ । अन्य बैंकहरु व्याज घटाउने बारे छलफल गरिरहँदा कृषि विकास बैंकले यो आर्थिक बर्षमा ३ प्रतिशत व्याज घटाइसकेको छ । यसअघि ११ प्रतिशतमा झारेको कृषि कर्जाको व्याजदर मिति २०७६ चैत २६ गते बसेको संचालक समितिको बैठकले ११ प्रतिशतबाट कृषि कर्जामा थप २ प्रतिशत घटाई ९ प्रतिशत कायम गरेको छ । गाइबस्तु पशुपंक्षि पालन, तथा तरकारी एवं वालीनालीसँगै कृषि उद्यमशीलताका लागि कृषि कर्जा उपभोग गर्न सकिन्छ ।
कृषि विकास बैंकले निक्षेपतर्फ पनि साधारणमै ५.५० प्रतिशतसम्म व्याज दिएको जनाएको छ । बैंकले २०७७ बैशाख १ गतेबाटै कृषि कर्जातर्फको व्याजमा ९ प्रतिशत कायम गरी कार्यान्वयनमा ल्याइसकेको बैंकका प्रवक्ता हिमलाल पौडेलले बैंकिङ खबरलाई बताए । अन्य बैंकहरुमा व्याजदर एकल अंकमा झर्ने सम्भावना कम देखिएको छ । अन्य बैंकहरुले निक्षेपतर्फ बैशाख १ गतेबाटै व्याज घटाए पनि कर्जामा व्याज घटाएका छैनन् । ती बैंकको तुलनामा कृषि विकास बैंकले गरेको यो निर्णयलाई नमुनाका रुपमा हेरीएको छ । कोरोना सन्त्रास र लकडाउनका कारण अन्योलमा रहेका बैंकका ऋणीहरुका लागि यो एउटा महत्वपूर्ण राहत भएको छ । यसले कृषि व्यबसायमा लाग्ने मानिसलाई खुसीको सन्देश समेत दिएको अनुभूति गर्न सकिन्छ । अन्य बैंकहरुले निक्षेप तर्फ मात्रै व्याज घटाएका बेला ग्राहकका निम्ति यो एउटा असल उदाहरण मानिएको छ ।
कृषि विकास बैंकमा अनिलकुमार उपाध्याय प्रमुख कार्यकारी अधिकृतका रुपमा आएदेखि बैंकले व्यबस्थापकीय क्षेत्रमा पनि उल्लेख्यीय फड्को मारेको छ । विगतका दिनहरुमा पुरानै शैलीको बैंक भनेर आरोप समेत खेप्दै आएको कृषि विकास बैंकले हाल अत्याधुनिक प्रविधिबाट सेवा दिँदै आएको छ । उक्त बैंकले मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङबाट पनि धेरै सुविधा उपलव्ध गराएको छ । पछिल्लो समय बैंकले ग्राहकलाई दिने सेवा सुविधा तथा विभिन्न कार्यमा समेत चुस्त र प्रभावकारी देखिएको छ ।