लकडाउनको अबस्थाले हरेक क्षेत्रलाई अन्यौलता सृजना गरेको छ । वित्तीय क्षेत्र अत्यावश्यकसँगै जोडीएका कारण बैंक तथा वित्तीय क्षेत्रले सेवा सूचारु गरेका छन् । कतिपय लघुवित्त क्षेत्रले पनि अत्यावश्यक कार्यमा सेवा सूचारु गरेका छन् । यस मध्येमा राष्ट्रिय स्तरबाट सेवा दिँदै आएको पुरानो र ठुलो लघुवित्त संस्थाका रुपमा रहेको छिमेक लघुवित्त वित्तीय संस्थाले सावधानीपूर्वक सबै विधिलाई अपनाएर ग्राहकहरुको लागि सेवा सूचारु गरेको जनाएको छ । नेपालका लघुवित्तहरुमध्येमा अग्रणी लघुवित्त संस्थाको रुपमा क्रियाशील छिमेक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलाराज शर्मासँग अपेक्षा ढुंगानाले लघुवित्तको सेवा र अवस्थाका बारे गर्नुभएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरिन्छ ।
लकडाउनको समयमा लघुवित्तहरुले कसरी सेवा दिइरहेका छन् ?
अहिले सबै ठाउँ लकडाउनमा छ । निश्चय नै यसले लघुवित्त क्षेत्रलाई पनि सोही अनुसारर असहज बनाएका छ । लकडाउन अवधिमा अन्य कामहरुमा त सर्वत्र वाधा भएको जानकारी नै छ । तर हामीले अर्थात छिमेक लघुवित्त वित्तीय संस्थाले पुरै काम ठप्प गरेको अबस्था छैन । हाम्रा कर्मचारी र ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सबै शाखाको अफिसमा सम्पर्क व्यक्तीको नंबर र अफिसको नंबर टासेका छौ । यसले गर्दा समस्यामा परेका ग्राहकहरुको समस्या समाधान हुन्छ । काम रोकेका छैनौ विधिगत ढंगवाट र सावधानी ढंगबाट काम सुचारु छ । कर्मचारीहरु आलोपालो काम गर्दै हुनुहुन्छ । डिपोजिट लिने दिने काम तथा ग्राहकहरुलाई इमरजेन्सी परेको खण्डमा सबै शखाहरुबाट २४ घण्टा नै सुविधा दिइरहेकै छौं । मिटिङहरु नबस्ने र मानिस भेला नहुने योजना छ । यदी मिटीङ बस्नै पर्ने अबस्था भयोभने टाढाटाढा बसेर दुरी कायम गरेर छलफल गर्न निर्देशन दिएका छौं । हाम्रा कर्मचारीहरुलाई ह्याण्ड सेनिटाइजर, मास्कहरु उपलब्ध गराएका छौं । त्यसका साथै कोरोना सम्बन्धि जनचेतना मुलक व्यानरहरु बनाएर उपलब्ध गराएका छौं । सावधानी, सहयोगी र कोरोना जनचेतना जागृत गर्दै अत्यावश्यक सेवाहरु सूचारु राखेका छौं ।
लकडाउनको समयलाई लघुवित्तकर्मीहरुले कसरी सदुपयोग गर्नु उचित होला ? तपाईका केही टिप्सहरु छन् की ?
सर्वप्रथम त सबैजना लघुवित्तकर्मीहरुलाई सुरक्षित साथ लकडाउनको नियमलाई पालना गर्नुहोस् नै भन्न चाहान्छु । यो अवधिभर हामी सबैले राज्यको नीति पालना गरेर सावधानी अपनाएर कोरोना संक्रमणहुनबाट आफू पनि र अरुलाई पनि जोगाउने हो । यो अवधिमा तपाईले आफ्ना घरायसी पेन्डीङ भइरहेको कामहरु गर्न सक्नुहुन्छ । यस्तै आफ्नो मनोबल उच्च राखेर नयँ योजनाहरु बनाउन सकिन्छ । सामाजिक दूरीलाई घटाउने अबस्था हो यो । यस कारण आफूलाई मन परेका पुस्तकहरु पढ्नु राम्रो हुन सक्छ । आफूलाई स्वस्थ राख्न नियमित सरसफाईदेखि खानपानशैलीमा विशेष ध्यान दिनुहोस् । हामी सधै व्यस्त हुन्थ्यौ यतिबेला एउटा संयोग जुरेको छ परिवारसँग बस्ने त्यसैले यतिबेला परीवारसँगै मिलेर सरसल्लाह गर्ने गर्नुपर्छ । यसो गर्दा आत्मियता बढ्नुको साथै तनाव पनि कम हुन्छ ।
लघुवित्तका ग्राहकहरु कृषि र ससाना उद्यमी छन्, कर्जा र किस्ता असुलीमा कस्ता समस्या आउलान् ?
अहिले सबैको समस्या एउटै हो भन्ने मलाई लाग्छ । अहिले सबैले काम गर्न पाइएको अबस्था छैन । हाम्रा ग्राहकहरु निम्न वर्गका हुन्छन् । काम गरेर गुजारा गर्ने परीवारको आय स्रोतमा समस्या आएपछि अवश्य नै चुनौतीहरु आउलान् । त्यसका बारेमा अहिलै यस्तै हुन्छ भन्न नसकिएला ।
लघुवित्तका सदस्यहरुलाई राहतस्वरुप व्याज छुटको सम्भावना र आवश्यकता के देख्नुहुन्छ ?
राष्ट्र बैंकले पनि ब्याजको लागि विभिन्न प्रावधान ल्याएको छ । त्यस्तै ठाँउ अनुसार पनि समस्या परेको ठाउँमा सहयोग त गर्नैपर्छ । अब यो लकडाउन सकिएपछि नै सबैकुराको ठोस जानकारी आउँला र प्रावधान ल्याउनमा सहजता होला भन्ने अपेक्षा गरौं । सबै सदस्यहरुबाट जानकारी लिएपछि कस्तो सुविधा दिने भन्नेमा अध्यन गर्न सहज हुन्छ । यसबारेमा एउटा अध्ययन गरेर सकेसम्म सदस्यहरुलाई केही सुविधा दिने योजना नेपाल राष्ट्र बेंकबाट आउने छ भन्ने अपेक्षा गरौ । सरकारी तवरबाट आफ्नो स्रोत साधनले भ्याएसम्मको सहयोग गर्नुपर्छ । यस्तै अध्यन गरी कुन ठाउँका कति प्रभावित भएका छन् त्यही अनुसार प्याकेज ल्याउनु आवश्यक छ । यस्तै, अब उपयुक्त प्रविधिको प्रयोगले सेवा विस्तार गर्न, सञ्चालन खर्च न्यून गर्न, सरल र सुलभ दरमा आवश्यकता अनुसारका वित्तीय सेवा प्रवाह गर्न प्रविधिको प्रयोगमा जोड दिनु आवश्यक छ ।
नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरज्यूको आगमन भएको छ, नयाँ गभर्नरज्यूलाई यहाँका केही सुझावहरु ?
गत सोमबार गभर्नर पदमा नियुक्त हुनुभएका महाप्रसाद अधिकारीज्यूलाई सर्वप्रथम हार्दिक बधाई तथा सुभकामना दिन चाहन्छु ।
सर्वप्रथम त कोरोनाले निकै चुनौती ल्याएको छ यसले कति असर गर्छ भन्ने कुरा हामीलाई थाहा छैन यसर्थ अर्थतन्त्रलाई ब्युँताउनु पहिलो काम हुन सक्छ । राष्ट्र बैंकको उद्देश्य वित्तीय नीति मार्फत राज्यले लिएका लक्ष्यहरुलाई सघाउनु आवश्यक हुन्छ । यस कारण अहिलेको चुनौती नै सबैभन्दा असहज भएका कारणले बर्तामान चुनौती समाधान गर्नु नै मुख्य कुरा हुन आउँछ ।
