बैंकिङ खबर । विश्वका धनाढ्यहरु कोरोना भाइरसविरुद्ध करोडौँ खर्च गरिरहेका छन् । एक आर्थिक म्यागाजिन विजनेस इन्साइडरका अनुसार धनाढ्यहरुले १३०.७५ मिलियन डलरभन्दा बढी खर्च गर्ने घोषणा गरेका छन् ।
नेपालका एकमात्र अर्वपति विनोद चौधरी देशभर व्यक्तिगत सुरक्षा उपकरण वितरणमा जुटेका छन् । यसका लागि सातै प्रदेमा चौधरी फाउन्डेसन टिम जुटेको छ ।
छिमेकी देश भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाले भारत सरकारलाई कोरोना विरुद्ध लड्न पाँच अर्ब भारु सहयोगको घोषणा गरेका छन् । उनले पीपीइ, मेडिकल सामाग्री, टेस्टिंग किट्स तथा उपचार कक्ष निर्माण एवं उपचारका लागि यस्तो सहयोग गर्ने भएका हुन् ।
मुकेश अम्बानीले भारत सरकारे राहत कोषमा ५०० करोड सहयोग गरेका छन् भने महाराष्ट्र र गुजरात सरकारलाई ५।५ करोड सहयोग गरेका छन् । यसका अलावा निशूल्क खाद्यान्न वितरण, १०० शैय्याको कोभिड १९ अस्पताल निर्माण, पिपिई प्रोटेक्टिभ गियर्स र दैनिक मास्क उत्पादनका लागि एक लाख सहयाग गर्ने घोषणा पनि गरेका छन् ।
चीनका धनाढ्य एवम् अलिबाबाका संस्थापक ज्याक माले कोरोना भाइरस विरुद्धको भ्याक्सिन बनाउनका लागि १४.५ मिलियन डलर सहयोग गर्ने घोषणा गरेका थिए । उनले ३० जनवरीमा यस्तो घोषणा गरेका थिए ।
बील गेट्सले आफ्नो फाउन्डेसनमार्फत १०० मिलियन डलर सहयोग गर्ने घोषणा ५ फेब्रुअरीमा गरेका थिए । यो सहयोग विश्वभरका संक्रमितहरुको उपचार, अफ्रिका र दक्षिण एशियामा उपचारका लागि पूर्वाधार निर्माण र भ्याक्सिन निर्माणका लागि रहेको गेट्स दम्पतीले बताएका छन् । यसअघि पनि उनीहरुले १० मिलियन डलर सहयोग गर्ने घोषणा गरेका थिए ।
हङकङका सबैभन्दा धनी व्यक्ति ली का शिङले वुहानका स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्नका लागि १३ मिलियन अमेरिकी डलर प्रदान गर्ने घोषणा १० फेब्रुअरीमा गरेका थिए । लीको आफ्नै संस्था पनि वुहान र हङकङमा मेडिकल निर्यातका कार्यमा खटिरहेको छ । उनले आफ्नो सहयोग चीनको रेड क्रस सोसाइटीमार्फत परिचालन गर्ने बताएका छन् ।
फेसन डिजाइनर जर्जिओ अर्मानीले इटालीका लागि १.४३ मिलियन डलरसहयोग गर्ने घोषणा ८ मार्चमा गरेका थिए । ८५ वर्षीय यी अर्बपतिको सहयोग दुई वटा अस्पतालका साथै एउटा रिसर्च इन्स्टिच्युटलाई समेत जानेछ ।
हेजका पूर्व व्यवस्थापक जर्ज सोरोसले आफ्नो नेटिभ ल्याण्ड बुढापेष्टका लागि १.१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा मार्च ३० मा गरेका थिए । आफ्नै संस्थामार्फत प्रदान गर्न लागेको सोरोसको यो सहयोग सरकारमार्फत परिचालन गरिने भएको छ ।




