बैंकिङ खबर । यतिबेला विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । २०१९ डिसेम्बरमा चिनमा देखा परेको यो भाइरस अहिले संसारका थुप्रै देशहरुमा फैलिरहेको छ । छिमेकी मुलुकहरुमा फैलिइसकेको यो महामारीबाट नेपाल पनि जोखिममा रहेको छ ।
विश्वव्यापी रुपमा फैलिएको यस भाइरसका कारण अन्तरराष्ट्रिय अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । देशहरुबीचको व्यापार नै ठप्प पार्नुपर्ने अवस्था सिर्जना भएको छ । नेपालमा यसको प्रभाव झन् उल्लेख्य रुपमा परेको छ ।
पर्यटन क्षेत्रमा प्रभाव
कोरोना भाइरसको मूख्य प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको छ । सरकारे २० लाख पर्यटक भित्राउने लक्ष्यसहित भिजिट नेपाल २०२० सुरु गरेको थियो । यद्यपि, कार्यक्रमको सुरुवातदेखि नै कोरोना भाइरसको संक्रमण फैलियो । संक्रमणलाई थप फैलिनबाट रोक्नका लागि मुलुकहरु बीचको यात्रा नै बन्द गर्नुपर्यो । जसकारण पर्यटकहरु आउने अवस्था नभएपछि कार्यक्रम नै स्थगित गर्नुपर्यो । फलस्वरुप यस कार्यक्रमका लागि गरिएको लगानी र योजना खेर गएको छ ।
रेमिट्यान्स प्रभावित
रेमिट्यान्स आप्रवाहमा पनि कोरोनाको प्रभाव देखिएको छ । वैदेशिक रोजगारीमा नेपालीहरु गएका प्रायः मुलुकमा कोरोना संक्रमणका कारण ठूला ठूला कम्पनीहरु नै बन्द गर्नुपर्ने अवस्था आएका कारण नेपालीहरुको रोजगारीमा असर पर्न गई आम्दानी बन्द भएपछि रेमिट्यान्स आप्रवाहमा कमी आएको छ ।
आन्तरिक तथा वाह्य व्यापारमा कमी
देशहरुबीच यतिबेला आवतजावत नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यसकारण देशमा उत्पादित सामान बाहिर पठाउन र बाहिरका सामान देशभित्र ल्याउन सकिएको छैन । त्यसमाथि, व्यापार व्यवसायहरु नै बन्द गर्नुपर्ने अवस्था छ । भीडभाडमा जाँदा संक्रमण हुने डरले मानिसहरु बजार जान समेत छोडेका छन् । फलस्वरुप, आन्तरिक र वाह्य दुबै व्यापार प्रभावित बन्न पुगेको छ ।
होटल व्यवसायलाई घाटा
भीडभाडमा जाँदा वा बाहिरको खाना खाँदा कोरोनाको जोखिम हुने भन्दै संयमता अपनाउन भनेपछि मानिसहरु बाहिर गएर खाजा, खाना खान कम गरेका छन् । जसकारण, होटलहरुको व्यवसाय प्रभावित बनेको छ । मानिसहरुले यात्रा गर्न पनि कम गरेका कारण यात्रुहरुलाई लक्षित गरी हाइवे वरिपरि खोलिएका होटलहरुको व्यवसायमा पनि असर परेको छ ।
विकास निर्माणका काम
कोरोना संक्रमणको त्रासले सबैलाई घर बस्न बाध्य पारेको छ । स्कुल कलेजहरु शैक्षिक सत्रको अन्त्यको परीक्षा समेत तयारी सेड्युलभन्दा अगाडी नै सकेर विदा गर्न लागेका छन् । सरसफाईमा ध्यान दिनुपर्ने र चिसोबाट बच्नुपर्ने भएपछि सडक, पुल, भवनहरु लगायतका विकास निर्माणका काममा लागेका मानिसहरु काममा जान डराउन थालेका छन् । जसकारण विकास निर्माणका काम नै प्रभावित बन्न थालेको छ ।
हालसम्म नेपालमा संक्रमण फौलिनसकेको कारण यससँग जुझ्नका लागि तयार रहने समय हामीलाई प्राप्त भएको छ । यद्यपि, बाहिरी देशमै भएको संक्रमणका कारण परेको असरलाई रोक्न सम्भव छैन । प्रायः देशहरुको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइराख्नका लागि व्याजदर घटाउने, बण्ड जारी गर्ने लगायतका घोषणाहरु गरिरहेको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको संक्रमणको कारणबाट असर पर्न सक्ने सम्भावित क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रहरुमा प्रवाह भएको कर्जामा पुनरकर्जा सुविधा र पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्थाहरुमा आवश्यकता अनुसार पुनरावलोकन गर्ने घोषणा गरेको छ ।