बैंकिङ खबर / नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘Leadership Excellence Awards 2026’ सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई कार्यक्रममा सम्मान गरिएको हो ।
भदौ ३ गतेदेखि काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतीमा ‘Everest Year Clouds and Beyond’ मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई पदक, सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। नेपालभर उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई विशेष सम्मान तथा नगद पुरस्कारसमेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल, सञ्चालक प्रबिन प्रकाश क्षेत्री र प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरेका थिए।कार्यक्रममा सञ्चालक अग्रवालले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १३ अर्ब रुपैयाँभन्दा बढी प्रथम बीमा शुल्क (एफपीआई) संकलन गरेको जानकारी दिए। उनले कम्पनीको २५ वर्षे यात्रामा अभिकर्ता, एजेन्सी म्यानेजर, कर्मचारी तथा ग्राहकको योगदान महत्वपूर्ण रहेको बताए ।
त्यस्तै, सञ्चालक ढकालले व्यवसाय विस्तारसँगै व्यावसायिक अनुशासन, सुशासन, नियामकीय व्यवस्था तथा एएमएल/सीएफटी प्रावधानको पूर्ण पालना गर्न अभिकर्ता तथा एजेन्सी म्यानेजरलाई आग्रह गरे। उनले विश्वास, पारदर्शिता र व्यावसायिक नैतिकतालाई कम्पनीको दीर्घकालीन सफलताको आधारका रूपमा उल्लेख गरे ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले आगामी दिनमा डिजिटल रूपान्तरणलाई प्राथमिकताका साथ अघि बढाउने बताए। अत्याधुनिक प्रविधिको प्रयोग, ग्राहकमैत्री डिजिटल सेवा, डेटा आधारित निर्णय प्रणाली तथा व्यावसायिक प्रक्रिया स्वचालनमार्फत ग्राहक अनुभव सुधार गर्ने योजना रहेको उनले बताए।कार्यक्रममा नेतृत्व विकास, व्यावसायिक समीक्षा, प्रेरणादायी सत्र, रणनीतिक प्रस्तुति, सम्मान समारोह तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कम्पनीका अनुसार २५ वर्षको अवधिमा नेपाल लाइफको जीवन बीमा कोष २८५ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीले हालसम्म ५५.७९ लाखभन्दा बढी बीमा पोलिसी जारी गरेको जनाएको छ भने कुल बीमा शुल्क संकलन ३६२ अर्ब रुपैयाँ पुगेको छ ।त्यस्तै, कम्पनीको मृत्यु दाबी भुक्तानी दर ९९.१३ प्रतिशत रहेको छ। नेपाल लाइफले हालसम्म नेपाल सरकारलाई १७.७१ अर्ब रुपैयाँ कर भुक्तानी गरेको जनाएको छ।कम्पनीले ‘Everest Year Clouds and Beyond’ अभियानमार्फत आगामी दिनमा प्रविधि, नवप्रवर्तन, ग्राहक सेवा र व्यावसायिक सुशासनलाई प्राथमिकतामा राख्दै व्यवसाय विस्तार गर्ने जनाएको छ ।