Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
आजको विशेष

बैंकका ३ वटा भल्ट भेटिए, कैयौं सुन र नगद अझै बेपत्ता

२०८३ भाद्र १४ गते

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका बैंकका भल्टहरू धादिङका विभिन्न स्थानमा फेला पर्ने क्रम जारी छ। पछिल्लो पटक धादिङको बैरेनी बजारमा लेदो सफा गर्ने क्रममा बैंकको अर्को भल्ट फेला परेसँगै बाढीपछि हालसम्म कम्तीमा तीनवटा भल्ट फेला परेको विवरण सार्वजनिक भएको छ।

आइतबार बैरेनी बजारमा सडकमा थुप्रिएको लेदो सफा गर्ने क्रममा बैंकको भल्ट भेटिएको हो। बाढीले बगाएर ल्याएको उक्त भल्ट लेदोमा पुरिएको अवस्थामा फेला परेको जनाइएको छ। यसअघि सोही दिन धादिङको मलेखु खोलाको पारी किनारमा पनि अर्को बैंकको भल्ट फेला परेको थियो। उद्धारकर्ता र प्रहरीले उक्त भल्ट निकालेर जिल्ला प्रशासन कार्यालयमा सुरक्षित राखेका छन्।

त्यसअघि धादिङको गल्छी क्षेत्रमा पनि बाढीले बगाएर ल्याएको बैंकको भल्ट फेला परेको थियो। उक्त भल्ट फोडेर रकम बाँडेको आरोपमा प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूबाट प्रहरीले ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले गल्छी क्षेत्रमा भेटिएको भल्टमा करिब १ करोड ८० लाख रुपैयाँ रहेको र स्थानीयको समूहले रकम बाँडेको दाबी गरेकी थिइन्। यद्यपि, भल्टमा वास्तविक रूपमा कति रकम थियो भन्ने विषय अनुसन्धानबाट यकिन हुन बाँकी छ।

बाढीले रसुवा र नुवाकोटका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू नै बगाएपछि बैंकमा रहेको नगदसँगै ग्राहकले धितोका रूपमा राखेका सुनचाँदी, गरगहना तथा अन्य बहुमूल्य सामग्रीसमेत जोखिममा परेका छन्। सम्बन्धित बैंकहरूले भौतिक क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन्।

विशेषगरी रसुवाको टिमुरे र स्याफ्रुबेंसी क्षेत्रमा रहेका बैंकका शाखा बाढीले बगाउँदा त्यहाँ रहेका भल्टसमेत नदीमा मिसिएका थिए। बैंकिङ क्षेत्रका अनुसार ती शाखाहरूमा ठूलो परिमाणमा नगद तथा ग्राहकका धितोका रूपमा राखिएका सुनचाँदीलगायतका बहुमूल्य वस्तु थिए। त्यसैले धादिङका विभिन्न स्थानमा भल्ट भेटिन थाले पनि बाढीले बगाएको कुल नगद, सुनचाँदी तथा अन्य सम्पत्तिमध्ये कति फेला परेको छ र कति अझै बेपत्ता छ भन्ने यकिन विवरण भने सार्वजनिक भइसकेको छैन।

यसबीच, बाढी प्रभावित बैंकका शाखामा रहेको नगद तथा बहुमूल्य धातुको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। नेपाल बैंकर्स संघले समेत प्रभावित बैंकहरूसँग निक्षेप, कर्जा तथा सुनचाँदीलगायत सम्पत्तिको विवरण मागेको जनाएको छ। पूर्ण विवरण आएपछि मात्रै बाढीबाट बैंकिङ क्षेत्रमा भएको वास्तविक वित्तीय क्षतिको तस्वीर स्पष्ट हुने देखिन्छ।