Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर डा. चिरंजीबि नेपालको ठम्याई : ‘बजेटको प्रेसरमा मौद्रिक नीति’

२०७३ असार १६ गते

chiranjibi nepalगभर्नर डा. चिरंजीबि नेपालले बजेटको लक्ष्यअनुसार मौद्रिक नीति तय गर्नुपर्ने चुनौति राष्ट्रसंग रहेको बताएका छन् । आगामी मौद्रिक नीतिबारे सुझाव लिन राष्ट्र बैंकले बिहिबार राजधानीको एक होटलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले विप्रेषण अप्रवाहको वृद्धिदर समेत घटिरहेको अवस्थामा सरकारको लक्ष्य हासिल गर्न वित्तीय साधन परिचालन गर्नुपर्ने चुनौति र अवसर थपिएको बताएका हुन् । उनले अहिले आफ्नो संस्थाभन्दा पनि मुलुकको हितबारे पहिला निर्णय लिनुपर्ने बेला आएको समेत बताए । मौद्रिक नीतिबारे सुझाव लिन निम्त्याइएका सरोकारवालाहरुलाई सुरुमै उनले भने, ‘अहिले मुलुकको बारेमा सोच्नुपर्ने बेला छ, तपाईहरुले सुझाव दिँदा कृपया आफ्नो संस्थाभन्दा मुलुकको हितलाई केन्द्रित गरी दिनुहोला ।’ आर्थिक वृद्धि र महंगी नियन्त्रणमा सरकारले लिएको लक्ष्य चुनौतिपूर्ण नै भएपनि असम्भव नरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, सहकारीकर्मी, उद्योगी व्यवसायी, कृषक, निर्यातकर्तालगायतको सहभागीता थियो । बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुले आगामी मौद्रिक नीतिमार्फत लगानीको बाटो अझै फराकिलो बनाइदिन आग्रह गरे । सबैको सुझाव सुनिसकेपछि गभर्नर नेपालले प्राप्त सुझावलाई औचित्य र उपादेयताका आधारमा मौद्रिक नीतिमा समावेश गर्ने आश्वासन दिए ।

nrbकार्यक्रममा नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले विभिन्न देशका मौद्रिक नीति र मुद्रा व्यवस्थापनसम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए । राष्ट्र बैकका तर्फबाट गभर्नर नेपाल र कार्यकारी अधिकृत थापासहित डेपुटी गभर्नरद्धय चिन्तामणि शिवाकोटी, शिवराज श्रेष्ठलगयतका अधिकारीको सहभागीता रहेको थियो ।