बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पहिलो पटक पुनर्कर्जा सम्बन्धि कार्यविधि जारी गरेको छ। हालसम्म सामान्य सहमतिमा चलिरहेको प्रक्रियामा केही नयाँ विषय थप्दै कार्यविधि जारी गरिएको छ ।
कार्यविधि अनुसार पुनर्कर्जा समय समयमा सरकार र राष्ट्र बैंकले तोके बमोजिम विभिन्न शीर्षकमा वर्गीकरण हुने छ भने ब्याजदर पनि राष्ट्र बैंकले नै तोक्ने छ। कार्यविधिमा पुनर्कर्जा कसरी लिने, कस्तो कस्तो कागजपत्र आवश्यक पर्छ लगायतका प्रक्रियागत विषयमा स्पष्ट पारिएको छ ।
कर्जामा स्वः लगानी अनुपात न्यूनतम ८०ः२० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ । यस्तो पुनर्कर्जा अर्थतन्त्रमा योगदान पुर्याउने उद्योगले मात्रै पाउने छन्। असल कर्जाको धितोमा मात्र पुनर्कर्जा पाइने छ। असल नै भएपनि अधिविकर्ष, हायर पर्चेज तथा अन्य चालु पूँजी प्रकृतिका कर्जाको धितोमा साधारण पुनर्कर्जा प्रदान गर्न पाइँदैन।
कुनै एक ग्राहक ऋणीको असल कर्जाको धितोमा प्रदान हुने पुनरकर्जाको उच्चतम सीमा ५० करोड कायम गरिएको छ । तर, सहवित्तीयकरण कर्जाको हकमा यो सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ। इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको प्राथमिक पूँजीको अधिकतम २५ प्रतिशतसम्म मात्र पुनर्कर्जा प्रदान गरिने व्यवस्था छ ।
झुठ्ठा विवरण पेश गरी पुनरकर्जा माग गरेमा/प्राप्त गरेमा त्यस्तो पुनरकर्जा प्राप्त गर्ने इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको पुनरकर्जा माग गर्ने अधिकारी (संचालक समिति समेत) लाई नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिमको कारवाही गरिने कार्यविधिमा उल्लेख छ ।



