बैंकिङ खबर । चौतारी लघुबित्त बित्तीय संस्थाले शाखा प्रबन्धकहरुको क्षमता बिकास गर्ने उद्देश्यका साथ २ दिने शाखा ब्यवस्थापन तालिम सम्पन्न गरेको छ । बुटवलमा तालिमको उदघाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले तालिमबाट कर्मचारीको दक्षता बिकास भई संस्थागत लक्ष्य हासिल गर्न उर्जा मिल्ने बताए ।
संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले तालिम निरन्तर प्रक्रिया रहेको बिषयमा चर्चा गर्दै आगामी दिनमा सबै तहका कर्मचारीहरुलाई योजनाबद्ध तवरले तालिम प्रदान गर्नुका साथै संस्थामा आबद्ध सबै सेवाग्राही सदस्यहरुलाई समेत व्यवसायीक योजना तर्जुमा तथा उद्यमशिलता तालिम प्रदान गरिने जानकारी गराए ।
तालिम समापन सत्रमा प्रमुख अतिथि न्यु होराईजन ग्रुपका लिडर तथा न्यु होराईजन उच्च मा.बि.का प्राचार्य लोकनाथ उपाध्यायले संस्थाको मेरुडण्डको रुपमा रहेका कर्मचारीको क्षमता बिकास गर्न सके मात्र संस्थाको लक्ष्य पुरा हुने बताए ।
संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले विपन्न बर्गलाई वित्तीय सहयोग गर्दै सामाजीक कल्याणमा जोड दिई गरिब तथा विपन्न बर्गको उत्थान उनिहरुको समृद्धिमा लाग्नु पर्नेमा जोड दिए ।
तालिममा बाह्य प्रशिक्षकको रुपमा रमेश अर्याल, दिनेश खड्का, कृष्णराज चौधरी, शकर भट्टराईले तालिम दिएका थिए । तालिममा बिभिन्न १५ जिल्लाका ५७ जना शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।