Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एनएमबि बैंकमा ओमका कर्मचारीलाई असहज, जागिर छाड्न बाध्य पार्ने रणनीति

२०७६ आश्विन १४ गते

बैंकिङ खबर । आइतबारदेखि एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ । मर्जर सकिए तापनि कर्मचारी समायोजनको विषयले ठूलै समस्या सिर्जना गरेको छ । मर्जरबाट ओमका कर्मचारीलाई असहज अवस्था सिर्जना भएको छ ।

ओम डेभलपमेन्ट बैंकका ७० जना कर्मचारीले मर्जरपछि बैंक छोड्नुपरेको छ । बाँकी कर्मचारीलाई पनि जागीर छोड्न बाध्य बनाउने रणनीति बैंकले बनाएको देखिन्छ । ओमका कर्मचारीहरुलाई साविकको पदभन्दा एक तह घटेर समायोजन गरिएको छ । हुन त ओमका सीईओले पनि एनएमबिमा ठाउँ पाएनन् । मर्जरपछि उनी बैंकबाट बाहिरिएका छन् । कर्मचारीहरु पनि एक तह घट्नुपरेका कारण असन्तुष्ट देखिएका छन् ।

प्रायः मर्जरमा यस्ता समस्याहरु देखिन्छन् । यो अवस्था नेपालमा मात्र नभएर विश्वव्यापी रुपमा नै हुने गरेको छ । दुई संस्था गाभिएर एक बन्दा दुई वटा संचालक समितिलाई गाभेर एक बनाउनुपर्ने हुन्छ । यद्यपि, संचालकको संख्या राष्ट्र बैंकले तोकिदिएको मापदण्डभन्दा बढी बनाउन पाइँदैन । यसकारण सबैले ठाउँ पाउँदैनन् र बाध्यतावश केही संचालकहरुले बैंक छोड्नुपर्ने हुन्छ । त्यस्तै, व्यवस्थापनको क्षेत्रमा पनि एउटा विभागमा एउटा व्यवस्थापक मात्रै हुन्छन् । दुई वटा बैंक गाभिँदा उस्तै विभागमा काम गरिरहेका दुईमध्ये एकको जागीर जान्छ । यस विषयले मर्जर नै तोडिने खालको मनमुटाव ल्याउन सक्छ ।

मर्जरमा गएपछि कर्मचारीको तह निर्धारणमा झन् समस्या हुने गरेको छ । विशेषगरी ठूला बैंकसँग साना बैंक मर्जरमा जाँदा कर्मचारीहरु धेरै समस्यामा पर्छन् । यही समस्या ओम डेभलपमेन्ट बैंक र एनएमबि बैंकबीचको मर्जरमा पनि देखिएको छ । तत्कालका लागि कर्मचारीलाई ठाउँ दिएका जस्तो देखिए तापनि एक तह घट्दा सन्तुष्ट नभएका कर्मचारीहरु अन्ततः बैंक छोड्न बाध्य हुने देखिन्छ ।

ओम र एनएमबि बीच ओमको १०० कित्ता बराबर एनएमबीको ७६ कित्ता सेयर हुने गरी मर्जर भएको छ । यसरी ठूलो बैंकसँग तुलनात्मक रुपमा सानो बैंक मर्जरमा जाँदा सेयरका साथै कर्मचारीहरुको मूल्यांकन पनि कम हैसियतमा गरिन्छ । जसअनुसार, एनएमबि बैंकका सबै कर्मचारीलाई यथास्थानमा समायोजन गर्दा स्वतः ओमका कर्मचारीहरुको जागीर धरापमा पर्न गएको छ ।

मर्जर पश्चात बैंकको शाखा संख्या १६३, एटिएम १२० र एक्सटेन्सन काउन्टर पाँच पुगेको छ । त्यस्ते, बैंकको जगेडाकोष २० अर्ब ४२ करोड रुपैयाँ, निक्षेप एक खर्ब १९ अर्ब रुपैयाँ र कर्जा एक खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । यसरी मर्जरपछि भौतिक सम्पतिमा बृद्धि भए तापनि, भावनात्मक पक्ष मिलाउनु निकै चुनौतिपूर्ण देखिएको छ ।

Ad