
बैंकिङ खबर । लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड ले काठमाण्डौं जिल्लाको मुख्यशाखामा आवद्ध ग्राहकहरुलाई व्यवसायिक तरकारी तथा च्याउ खेती तालिम प्रदान गरेको छ ।
उक्त तालिम भाद्र ११ र १२ गते गरी २ दिन सञ्चालन भएको थियो । तालिममा व्यवसाय उन्मुख ३३ जना ग्राहकहरुलाई सहभागी गराइएको थियो ।
तरकारी खेती सम्बन्धी परम्परागत जीविकोपार्जन सीपलाई व्यवसायिकरण तर्फ रुपान्तरण गर्न तथा च्याउ खेतीतर्फ ग्राहकहरुलाई आकर्षित गर्ने उद्देश्यले उक्त तालिम आयोजना गरिएको थियो ।
तालिमको उद्धाटन कार्यक्रम मा बोल्दै काठमाण्डौं तारकेश्वर नगरपालीका वडा नं. १ का वडा अध्यक्ष विदुर सापकोटाले “यस्ता किसिमका तालिमहरु संचालन गर्नु पर्ने हाम्रो दायित्व थियो । तथापि यस संस्थाले सीप र क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रमहरु मार्फत महिला कृषकहरुलाई उद्यमशीलता बनाउन गरेको प्रयास एकदमै सकारात्मक रहेको”बताउनु भएको थियो । तालिमको सहजीकरण संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत (कृषिविशेषज्ञ) ओम प्रकाश भुसालले गरेका थिए ।
तालिमको समापन कार्यक्रममा बोल्दै संस्थाका सहायकमहाप्रबन्धक सुन्दर प्रसाद श्रेष्ठले तालिम तालिममा मात्र सिमित नगराई तालिमलाई व्यवहारिकतामा उतार्दै, सफल उद्यमी बनी अन्य महिलाहरु लाई पनि यस क्षेत्रमा लागि पर्न उत्प्रेरित गर्नुपर्ने कुरामा जोड दिनुभयो । साथै लक्ष्मी लघुवित्तले कर्जा, बचत बाहेक लघुवीमा, विप्रेषण र लक्ष्मी बैंक संगको सहकार्यमा शाखा रहित बैंकिङ्ग सुविधा सँगै ग्राहकहरुलाई उद्यमशील बन्न प्रेरित गर्ने उद्देश्यले क्षमता अभिवृद्धि तथा सिप विकास सम्बन्धी विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्दै आएको बारे अवगत गराउनु भएको थियो ।