अपेक्षा ढुंगाना , बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्सले पाचौँ वर्ष पुरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसर पारेर मोबाइल बैंकिङ र एसएमएस बैंकिङ सुरु गरेको छ । धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा रु.५०० जम्मा गरि संस्थाका प्रमुख कार्यकारी अधिकृत रामवहादुर यादवले मोवाइल बैकिङ सेवाको शुरुवात गरेका हुन् । संस्थाको मोवाइल बैकिङ सेवाबाट युटिलिटी पेमेन्ट, मोवाइल रिचार्ज तथा रकम ट्रान्सफरको साथै अन्य सेवा प्राप्त गर्न सकिनेछ । एस.एम.एस. बैंकिङबाट सदस्यहरुले आफ्नो बचत तथा कर्जाको कारोबारको विवरण र अन्य सुचना एस.एम.एस. मार्फत जानकारी प्राप्त गर्नेछन् ।
पाचौँ वार्षिकोत्सवको अवसर पारेर संस्थाले धादिङको आमाको माया छात्रवासका २५ अनाथ बालबालिका लाई सहयोग समेत गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत यादवले एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री छात्रवासका अध्यक्ष डा. नविनवन्धु पहाडीलाई हस्तान्तरण गरेका हुन् ।
वार्षिकोत्सवको अवसरमा संस्थाका देशैभरी रहेका शाखा कार्यालयहरुले आआफ्नो क्षेत्रमा सरसफाई, वित्तीय साक्षरता, बृद्धवृद्धालाई सहयोग एवम् अस्पतालका विरामीलाई फलफुल वितरण गरेका थिए ।
२०७१ आषाढ १८ गतेदेखि संचालनमा आएको यस संस्थाले हाल देशका ३८ जिल्लामा ५० वटा शाखा कार्यालय मार्फत ८० हजारभन्दा बढी घरधुरीलाई सेवा पुर्याइरहेको छ । हाल कर्जा लगानी करिब रु ४ अर्ब र बचत रु १ अर्व २६ करोड रहेको छ ।