बैंकिङ खबर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले केन्द्रहरुको थप गुणस्तर बृद्धि र सुदृढिकरणलाई मध्येनजर गर्दै आफ्ना शाखा कार्यालयहरु मार्फत स्वच्छ लघुवित्त, हाम्रो अभियान भन्ने मुल नाराका साथ केन्द्र व्यवस्थापन तालिमको सुरुवात गरेको छ ।
विगत वर्षहरुमा वार्षिक केन्द्र प्रमुख उपप्रमुख तथा वार्षिक समिक्षा गोष्ठि गर्दे आईरहेको संस्थाले यस वर्ष उक्त मोडलाई परिवर्तन गरी केन्द्र व्यवस्थापन तालिमको माध्यमबाट नवनिर्वाचीत सम्पूर्ण केन्द्रका केन्द्र प्रमुख र उपप्रमुखहरुलाई केन्द्र सञ्चालनमा दक्ष बनाउने उद्देश्यले उक्त तालिम दिएको हो ।
संस्थाका सुचना अधिकृत सुमन जि.सीले शाखा कार्यालय अन्तर्गत रहेका केन्द्रहरुको गुणस्तरका आधारमा राम्रा, कमजोर र अति कमजोर गरी तिन वटा क्याटगोरी छुट्टयाई बैशाख र जेष्ठ महिनामा विभिन्न चरणमा केन्द्र व्यवस्थापन तालिम सञ्चालन गर्ने संस्थाको योजना रहेको बताए ।
केन्द्र व्यवस्थापन तालिमको सुरुवात संस्थाले शाखा कार्यालय हटिया, कुश्मिसेरा र तानसेनबाट गरेको हो । तालिममा मुख्यतया केन्द्र के हो ? केन्द्रलाई व्यवस्थापन कसरी गर्ने, केन्द्रमा गर्नुपर्ने मुख्य कार्यहरु, केन्द्रमा हुनुपर्ने गुण र विशेषताहरु, केन्द्र व्यवस्थापनको महत्व, केन्द्र मुल्याङ्कन, मुल्याङ्कनका आधार र अंक, केन्द्रका पदाधिकारीको काम कर्तव्य र अधिकार र संस्थाद्धारा प्रदान गरिने सेवा सुविधाहरुको विषयमा जोड दिईने संस्थाका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले बताए ।
संस्थाले पहिलो चरणको तालिममा सम्पूर्ण शाखा कार्यालयहरुमा मुख्य कार्यालयबाट प्रतिनीधि तोकेको छ । जसमा प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी, प्रवन्धक संगिता शर्मा पौडेल, सिनीयर आन्तरीक लेखा परक्षिक मुक्तिप्रसाद शर्मा, बचत तथा ऋण अधिकृत प्रेमवहादुर थापा र लेखा अधिकृत प्रतिभा शर्मा रहने छन् साथै तालिममा बाह्य सहजकर्ताको रुपमा एक शाखाको प्रवन्धकलाई अर्को शाखामा तोकिएको संस्थाले जनाएको छ ।
हालसम्म संस्थाले२१ वटा शाखा कार्यालयहरु मार्फत ३८ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ । संस्थाले आफ्ना सदस्यहरुबाट ६२ करोड बचत संकलन गरी सदस्यहरुको आय आर्जनका क्षेत्रमा लगानी गरेको बाँकी ऋण ९४ करोड र कुल सम्पत्ती (वासलात) १ अर्व १५ करोडको रहेको संस्थाले जनाएको छ ।आगामी दिनहरुमा पनि संस्थाले अन्य विकट क्षेत्रहरुका विपन्न तथा गरिब घरपरिवारलाई पनि लघुवित्त सेवा प्रदान गर्ने बताएको छ ।