Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
फिन–टेक

विद्यार्थीले टेलिकमको विभिन्न सेवामा छुट पाउने

२०७६ बैशाख १२ गते

बैंकिङ खबर । नेपाल टेलिकमले सीमकार्ड सित्तैमा दिने भएको छ । साथमा ५० रूपैयाँ बोनस पनि दिने योजना सार्बजनिक गरेको छ । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि लक्ष्यित गरी ल्याएको ‘विद्यार्थी अफर’ उक्त सुविधा रहेको छ ।

सो ‘विद्यार्थी अफर’ अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकम मध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।

त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।

निःशुल्क सिम उपलब्ध गराइने यो ‘विद्यार्थी अफर’ अन्तर्गत विविध सहुलियत एवं सुविधा तथा वोनस उपहारसमेत भएकोले यो अफर विद्यार्थीहरुबीच लोकप्रिय भइरहेको छ । यस अफर अन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ ।

अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ ।

त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।

कम्पनीले एसईई परीक्षा दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुका लागि उपलब्ध गराएको यो आकर्षक ‘विद्यार्थी अफर’ विद्यार्थीमाझ लोकप्रिय भएको जनाएको छ । पहिले देखि नै उपलब्ध सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी हाल पनि निरन्तरता दिइएको हो ।