बैंकिङ खबर । पाँचथर पावर कम्पनीले प्राभावित क्षेत्रका वासिन्दाको लागि पुस ३० गतेदेखि ९ लाख ६२ हजार ५०० कित्ता प्राथमिक सेयर निष्काशन गरेको छ । प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि कम्पनीले सेयर निष्काशन गरेको हो । प्रभावित क्षेत्रका वासिन्दाले न्युनतम १० कित्तादेखि अधिकतम ९ हजार ६२० कित्ताको लागि माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेका कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ । केयर रेटिङ नेपालले गरेको क्रेडिट रेटिङ अनुसार कम्पनीले ’केयर एनपि आइपिओ ग्रेड ४’ प्राप्त गरेको छ ।
कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ । प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको छ भने जम्मा लागत दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ । यस पछि सर्वसाधारणलाई सेयर जारी गर्ने छ ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीको दीर्घकालिन ऋण एक अर्ब ७१ करोड रुपैयाँ रहेको छ । आयोजना निर्माणको कुल लागत दुई अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने लगानी फिर्ता अवधिक ९ वर्ष रहेको छ। गत वर्ष ४ करोड ५१ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले आर्थिक वर्ष २०७७ र ७८ देखि नाफामा हुने प्रक्षेपण गरेको छ ।