December 10th, 2018

अहिले सेयर बजारमा लगानी गर्ने उत्तम समय : यस्ता छन् आधारहरु

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गरेको छ । बोर्डले यतिबेला सेयर किन्न उत्तम समय भएको जनाएको छ । यसका लागि बोर्डले विभिन्न आधारहरु समेत पेस गरेको छ । जुन यसप्रकार छन् :

१. देशमा राजनीतिक स्थायित्व कायम भईसकेको छ भने सरकारले वित्तीय प्रणालीमा विभिन्न सुधारका कार्यक्रमहरु अगाडि बढाई पूँजीबजार मार्फत देशको आर्थिक समृद्धिमा जोड दिएको छ । 
२. सूचीकृत संगठित संस्थाहरुले साधारणसभा गर्ने क्रममा रहेका छन् । साधारणसभा गर्ने संस्थाहरुले लाभांसको समेत घोषणा गरिरहेका छन् ।
३. धेरै जसो सूचीकृत संगठित संस्थाहरुले प्रकाशन गरेको यस आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको वित्तीय विवरणमा नाफाको अवस्था देखिएको छ । 
४. सरकार र बोर्डले हाल बजार विकास तथा सुधारका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाएका छन् । पूँजीबजारमा विगत केही वर्षहरुदेखि अन्यौलको रुपमा रहेको भ्याटको समस्यालाई समाधान गरी स्थायित्व दिइ्रएको छ भने बजारको दीर्घकालिन विकासको लागि सरकारले प्रोत्साहनमूलक नीति तथा कार्यक्रमहरु अगाडि बढाएको छ ।
५. धितोपत्रको प्राथमिक बजार ७७ जिल्लामा विस्तार भइसकेको छ भने दोस्रो बजारको कारोवार पूर्ण स्वचालित अनलाईन प्रणालीमा जाने क्रममा रहेको छ । 
६. दोस्रो बजारको दायरा अझै फराकिलो बनाउन बोर्डको आर्थिक वर्ष २०७५।७६ को नीति तथा कार्यक्रम अनुसार संघीय संरचना अनुसार विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला तथा स्थानहरुमा (काठमाण्डौ उपत्यकावाहेक) स्थानीय स्तरमा धितोपत्र दलाल व्यवसायीको अनुमति पत्र प्रदान गर्न आवश्यक कार्य अगाडि बढाउन बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिइसकेको छ ।
७. धितोपत्र बजारमा धितोपत्र व्यापारी (डिलर)लाई प्रवेश गराउन भईरहेको तयारीकोे सम्बन्धमा समेत नेप्सेसँग जानकारी माग गरेको छ ।
८. बोर्डले बैकल्पिक लगानी कोष नियमावली मार्फत प्राइभेट इक्यूटी, भेन्चर फण्ड र हेज फण्ड प्रबेश गराई कम्पनीहरुलाई चाहिने दीर्घकालीन कोषको व्यवस्था गर्ने कार्य अगाडि बढी सकेकोे छ भने मार्जिन ट्रेडिङ्ग शुरु गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
९. सरकारले पूँजीबजार र मुद्रा बजारमा वित्तीय स्थायित्व कायम गरी औद्योगिक एवं पूँजीबजारमा लगानीका समस्याहरु पहिल्याएर सात दिन भित्र सुझाव पेश गर्न अध्ययन समिति गठन गरिएको छ । लगानीकर्ताहरुको समेत प्रतिनिधित्व रहेको उच्च स्तरीय उक्त समितिले दिने सुझावहरुको कार्यान्वयनबाट बजार विकास एवं स्थायित्व अभिबृद्धि हुने विश्वास लिइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]