December 9th, 2018

सेयर लगानीकर्ताको रिले अनसन सुरु : केके छन् माग ?

बैंकिङ खबर । सेयर बजारका लगानीकर्ताले आइतबारदेखि रिले अनसन सुरु गरेका छन् । सेयर लगानीकर्ता दबाब समूहले लगानीकर्ताको सम्पति सुरक्षा गर्न सरकार र नियमनकारी निकायहरुलाई दबाब दिन अनशन आयोजना गरेको जनाएको छ । दबाब समूह आइतबार विहान १० बजेदेखि नेप्सेको कार्यालय अगाडी अनसन बसेको छ । अनसनमा सेयर लगानीकर्ता संघ र नेपाल पुँजी बजार संघले पनि ऐक्यवद्धता जनाएका छन् । 

लगानीकर्ताहरुले पूँजी बजार सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्न समूहले माग गरेका छन् । सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गर्नुपर्ने र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ । 

अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्यानुपर्ने, सेयर दलाल मार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गरिनुपर्ने, धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था हुनुपर्ने, कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति सेयर नेटवर्थभन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरिनुपर्ने लगायतका माग राखिएको छ । 

त्यस्तै, धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्र्यिवधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याइनुपर्ने लगानीकर्ताको माग छ । उनीहरुले सेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याउन पनि भनेका छन् । जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरिनुपर्ने उनीहरुको भनाई छ । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले सेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था गर्न समेत उनीहरुको माग छ । 

यसबाहेक, ग्रेड चार र पाँच रेटिङ प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरिनुपर्ने माग अघि सारिएको छ । कम्पनीले हकप्रद सेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत सेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरिनुपर्ने माग पनि गरिएको छ । 

सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ सेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरिपर्ने पनि लगानीकर्ताको माग छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]