December 6th, 2018

सेयर बजार सुधारका लागि ताते अर्थ र बोर्ड 

बैंकिङ खवर। सेयर बजार सुधारका लागि अर्थ मन्त्रालय र धितोपत्र बोर्डले पहल थालेका छन् । सेयर बजार सुधारका लागि कुनै काम नभएको भन्दै लगानीकर्ताको समूहले अनसनको चेतावनी दिएसँगै मन्त्रालय र बोर्डले चासो देखाएका हुन् । 

पुँजी बजारमा देखिएका समस्याको पहिचान गरी समाधानका लागि सुझाव दिन भन्दै मन्त्रालयले डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ। 

समितिमा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्की, बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, लगानीकर्ता संघका प्रतिनिधी र मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन सहसचिव सम्मिलित छन् ।

समितिले सात दिन भित्र सेयर बजार सुधारका लागि आवश्यक सुझाव दिनेछ। उता धितोपत्र बोर्डले मार्केट डिलर भित्र्याउनका लागि पहल गरेको छ। बिहीबार बोर्डले नेप्सेलाई पत्र पठाउँदै मार्केट डिलरका लागि भइरहेको तयारीका बारेमा जानकारी दिन भनेको हो । 

तीन वर्षअघि नै नागरिक लगानी कोषलाई मार्केट डिलरको रुपमा विकास गर्ने योजना बनाइए पनि नेप्सेको प्रविधिले साथ नदिँदा अघि बढ्न सकेको थिएन। 
कात्तिक २० गतेदेखि थालिएको नयाँ प्रणालीबाट मार्केट डिलरले समेत कारोबार गर्न सक्ने नेप्सेले जनाएको छ । 

कोषले सहायक कम्पनी बनाएर मार्केट डिलरको रुपमा काम गर्ने छ। मार्केट डिलरले सेयर बजार घट्दा पर्याप्त मात्रामा खरिद गर्ने र बढ्दा बेच्ने भएकाले बजार सन्तुलनमा राख्न टेवा पुर्याउँछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]