October 22nd, 2018

मध्य भोटेकोशी जलविद्युत कम्पनीलाई आईपिओ निष्काशन गर्ने अनुमति

बैंकिङ खबर । मध्य भोटेकोशी जलविद्युत कम्पनीले एक अर्ब ४४ करोड रुपैयाँ बराबरको एक करोड ४४ लाख कित्ता आईपिओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । कम्पनीले सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीका सेयर जारी गर्ने अनुमति पाएको हो । 

कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ताहरुका लागि कुल एक अर्ब १७ करोड बराबरको एक करोड १७ लाख कित्ता सेयर, संस्थापक सेयरधनी संस्थाका कर्मचारीका लागि २१ करोड बराबरको २१ लाख कित्ता सेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ करोड बराबरको ६ लाख कित्ता सेयर जारी गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड रहेका छन् ।

कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक सेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई उक्त परिमाणको आइपिओ जारी गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानिय बासिन्दाका लागि ६० करोड बराबरको ६० लाख कित्ता सेयर जारी गर्नेछ । त्यसपछि तेस्रो चरणमा कम्पनीले सर्वसाधारण तथा उक्त कम्पनीका कर्मचारीहरूका लागि ९० करोड बराबरको ९० लाख कित्ता सेयरहरु जारी गर्नेछ ।

मध्य भोटेकोशीको सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ । व्याजसहित १५ अर्ब रूपैयाँ लागतमा बन्ने आयोजना सन् २०१३ को सुरुवातमा निर्माण सुरु गरी सन् २०१६ को अन्त्यमा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँधस्थलको जग्गा समयमा उपलब्ध नभएका कारण आयोजनाको म्याद थप गरिएको थियो । संशोधित कार्यतालिकाअनुसार आयोजनाको निर्माण सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको छ । आयोजनामा कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण लगानी गरेको छ ।

आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एकरएक प्रतिशत संस्थापक सेयर रहने छ । सर्वसाधरणलाई १५, प्रभावित जिल्लाबासीलाई १०, कर्मचारी सञ्चय कोषलाई १९।५ र आयोजनामा कार्यरत कर्मचारीलाई ३.५ प्रतिशत सेयर दिइनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]