October 15th, 2018

माथिल्लो तामाकोशीको आईपिओ कात्तिक १५ गतेदेखि, घरमै बसीबसी भर्न सकिने

बैंकिङ खबर । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँको साधारण सेयर (आईपिओ) जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशत बराबरको एक सय रुपैयाँ अंकित दरले हुने एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । आईपिओमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन गर्न पाउनेछन् । कात्तिक १९ गतेसम्म आवेदन दिन सकिनेछ । आइपिओमा धितोपत्र बोर्डबाट सि आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिने व्यवस्था रहेको छ । मेरो सेयर प्रयोगकर्ताले पनि अनलाईबाटै आइपिओमा आवेदन दिन सक्नेछन् ।

माथिल्लो तामाकोशीले गत जेठ २३ गते स्थानीय र सर्वसाधारण गरि कूल दुई अर्ब ६४ करोड ७५ लाख रुपैयाँको आईपिओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । जसअनुसार, पहिलो चरणमा स्थानीयका लागि सेयर जारी गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर खुला गर्न लागेको हो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]