fbpx

हिमालय ऊर्जाको नौ लाख ९० हजार कित्ता सेयर कात्तिक ६ गतेदेखि

October 10, 2018

बैंकिङ खबर । हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाबासीका लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ९० लाख रुपैयाँ बराबरको नौ लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । 

आयोजनाको अति प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिका वडा नंम्बर १ र जिरी नगरपालिका १ र २ का बासिन्दाले तीन लख ९६ हजार कित्ता सेयर पाउनेछन् । प्रभावित क्षेत्रलाई छुट्याएको शेयरमध्यबाट यी दुई क्षेत्रको तीन वटा वडाको लागि उक्त सेयर ४० प्रतिशत छुट्याएको उल्लेख छ । बाँकी ६० प्रतिशत अर्थात पाँच लाख ९४ हजार कित्ता सेयर प्रभावित क्षेत्र गोकुलगंगा गाउँपालिकाको १ देखि ५ सम्म र जिरी नगरपालिकाको वडा नं ३ लाई छुट्याइएको छ । 

कात्तिक ६ गतेदेखि निष्काशन हुने सेयर छिटोमा कात्तिक २० गते र ढिलोमा मंसिर ५ गतेसम्म खुल्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त सेयरमा न्यनतम ५० कित्तादेखि अधिकतम चार हजार नौ सय कित्तासम्म आवेदन दिन पाइने छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री वितरण गरेको सेयर सर्वसाधारणका निम्ति निष्काशन गरेर बाँडफाँडसमेत भएको तीन वर्ष पूरा नभएसम्म बिक्री गर्न नपाईने शर्त पनि हिमाल ऊर्जाले तोकेको छ ।

९९ करोड अधिकृत पूँजी रहेको यो कम्पनीको चुक्ता पूँजी ७४ करोड २५ लाख छ । यसले २४ करोड ७५ लाख को पूँजी भने शेयर निष्कासनबाटै बढाउने भएको छ । आयोजना प्रभावितलाई सेयर दिएपनि कम्पनीको पूँजी ८४ करोड १५ लाख रुपैंयाँ पुग्ने छ । बाँकी १४ करोड ८५ लाख रुपैयाँ सर्वसाधारणलाई सेयर निष्कासन गरेर जम्मा गर्ने जानकारी पनि हिमाल ऊर्जाले दिएको छ । यो कम्पनीमा संस्थापकको ७५ प्रतिशत, आयोजना प्रभावित सर्वसाधारणको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत सेयर स्वामित्व हुने छ ।

हिमाल ऊर्जाले रामेछाप र दोलखा जिल्लाको सिमानामा बग्ने खिम्ति खोलामा उपल्लो खिम्ति १२ मेगावाट र अपर खिम्ति ७ मेगावाटको गरी दुई वटा आयोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्तिको लागत १ अर्ब ९१ करोड र अपर खिम्तिको लागत १ अर्ब २३ करोड रुपैयाँ रहेको उल्लेख छ । यो आयोजनाले २०७४ चैत्र ३० सम्म ५५ प्रतिशत निर्माण गरिसकेको छ । यसले आगामी बैशाखबाट व्यवसायीक उत्पादन सुरु गर्ने लक्ष्य अगाडि सारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.