October 3rd, 2018

बन्दीपुर केबलकार कम्पनीले बन्दीपूरबासीका लागि सेयर खुलायो, कति किन्न पाइन्छ ?

तनहुँको बन्दीपुर केबलकार कम्पनीले बन्दीपुरवासीका स्थानीयका लागि केबलकारको सेयर खुल्ला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि सेयर खुल्ला गरेको हो । बन्दीपुरमा बसोबास गर्नेले एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको शेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले बताए । 

कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता शेयर छुट्याएको छ । बन्दीपुर केबलकार कम्पनी प्रालि र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको लगानीमा बन्दीपुरमा केबलकार निर्माण हुनलागेको हो । केबलकारको गत साउनमा शिलान्यास गरिएको थियो । हाल केबलकार जडानको काम भइरहेको छ ।

केबलकारमा स्थानीय अपनत्व बढाउन कम्पनीले केबलकार कम्पनीलाई पब्लिक कम्पनीको रूपमा विकास गर्ने जनाएको छ । बन्दीपुर आसपासका नागरिकलाई सात हजार ५०० रूपैयाँ तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गरिने आरकेडी रियलस्टेटका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

पत्रकारिता क्षेत्रबाट केबलकार प्रवद्र्धनमा सहयोग पु¥याउने तीन पत्रकारलाई वार्षिक एकरएक लाखको शेयरमार्फत सम्मान गरिने उनको भनाइ छ । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत एक समाजसेवीलाई समेत प्रत्येक वर्ष एक लाखको शेयरले सम्मानित गरिनेछ ।

बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि छिमेकी देश भारतमा ‘चलिए बन्दीपुर’ अभियान तथा धार्मिक पर्यटनको विकास गर्न ‘चार धाम बन्दीपुर जाम’ अभियान सञ्चालन गरिनेछ ।

करीब ५६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको केबलकार १५ महीनाभित्र सक्ने लक्ष्य छ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा दुई सय जनाले वारपार गर्न सक्नेछन् । झण्डै १० रोपनी क्षेत्रफलमा निर्माण हुने केबलकारले बन्दीपुर घुम्न आउने पर्यटकलाई अझ बढी आकर्षित गर्ने निर्माण कम्पनीको विश्वास छ ।

एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने बताइएको छ । कम्पनीले स्थानीयवासीको सहकार्यमा होटल तथा रेष्टुराँ खोल्ने योजना बनाएको छ । बटम स्टेशनमा कार, मोटरसाइकल र निजी सवारीसाधन राख्नका लागि पार्किङको समेत व्यवस्था गरिने छ ।

ठूल्ढुङ्गेबाट शुरू हुने केबलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । ठूल्ढुङ्गेबाट बरालथोकसम्मको लम्बाइ एक हजार ६०० मिटर रहेको छ । डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो चढ्नु पर्छ । केबलकार निर्माण भएपछि सो दूरी पार गर्न नौ मिनेट लाग्नेछ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]