August 14th, 2018

अभिकर्तालाई बीमा कम्पनीले सक्षम बनाउन नसकेका कारण बीमा पहुँच बढ्न सकेन

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन्, प्रकाश विक्रम खत्री । बीमाले मानिसहरुलाई त्रासबाट मुक्त गराई सुखी जीवन विताउन सहयोग गर्ने भएकाले बीमा गर्नैपर्ने उनको धारणा छ । स्थापनाको नौ महिनाभित्र नै ५० जिल्लामा ६६ शाखा विस्तार गरेर राम्रो सफलता हात पारेको ज्योति लाइफ इन्स्योरेन्सले आगामी दिनमा शाखा विस्तारलाई अझै तीव्रता दिने खत्री बताउँछन् । जीवन बीमा, यसको महत्व एवम् ज्योति लाइफ इन्स्योरेन्स र यसका आगामी योजनाहरुको सेरोफेरोमा रहेर उनै खत्रीसँग बैंकिङ खबर डट कमका लागि सहकर्मी विजय पराजुलीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

सामान्य भाषामा जीवन बीमा भनेको के हो ? यसले कसरी काम गर्दछ ?
जीवन बीमा भनेको एक किसिमको बचत र लगानी दुवै हो । जीवन बीमा जोखिमहरुको बहन गर्ने वित्तीय साधन पनि हो । बीमा कम्पनीमा जसले बीमा गरेका हुन्छन्, ती व्यक्तिहरुले हरेक वर्ष पैसा बुझाउँदै जान्छन् । यदि ती व्यक्तिहरु जोखिममा परे अर्थात कुनै घटना घट्यो भने बीमा कम्पनीहरुले क्षतिपुर्ति बहन गर्दछ । यदि बीमा गरेका व्यक्तिहरुमा तोकिएको समयअवधिसम्म कुनै घटना भएन भने बीमा कम्पनीहरुले प्रतिफलसहित उक्त रकम फिर्ता गर्दछन् । जीवन बीमाले जस्तोसुकै पिडीतलाई पनि डर त्रासबाट मुक्त गराएर सहयोग गर्ने गर्दछ ।
 

जीवन बीमा कम्पनीहरुको संख्या बढ्दै आएको छ । बीमा कम्पनीहरुको बृद्धिसंगै नागरिकहरुको बीमा पहुँचमा कतिको बृद्धि भएको पाउनु भएको छ ?
बीमा कम्पनीहरुश्को बृद्धिसंगै बीमा पहुँचमा पनि बृद्धि भएको छ । पहिला पहिला सर्वसाधरणहरुमा बीमा कम्पनीहरु आएर के होला, बीमा कम्पनीहरुले के काम गर्लान् त ? भन्ने सबै एक किसिमको जिज्ञासाको विषयवस्तु बनेको थियो । तर, अहिले बीमा गर्ने व्यक्तिहरुको संख्यामा बृद्धि भएको छ । मानिसहरुको बीमाप्रति चासो एकदम बढ्दै आएको छ । बीमा पहुँच पहिलाको भन्दा २५ प्रतिशतले बढेको छ । बीमा कम्पनीहरुको व्यापार व्यवसाय बढेको छ । व्यापार व्यवसाय बढ्नु भनेको बीमितहरुको संख्या बढ्नु हो । 
गत आर्थिक बर्षमा ९ वटा कम्पनीहरु मिलेर साढे १३ करोड बीमा शुल्क संकलन गरेका थिए । यो आर्थिक वषमा लगभग साढे १६ अर्ब बीमा शुल्क संकलन गरेका छन् । त्यसमा पनि ९ वटा कम्पनीहरुको राम्रो योगदान छ । लगभग तीन अर्ब त नयाँ कम्पनीहरुको मात्रै योगदान रहेको छ । 
 

ज्योति लाइफ इन्स्योरेन्सको बीमा पोलिसीहरु के के छन् ?
‘ज्योति लाइफ : सँधै तपाईलाई छ हाम्रो साथ’ भन्ने नारालाई लिएर यस कम्पनीले आफ्नो व्यापार व्यवसायलाई अगाडी बढाउँदै आइरहेको छ । कुनै दुर्घटना हुँदा अथवा मानिसहरुलाई विभिन्न रोग लाग्दा छिटै सेवा र सुविधा दिनुपर्छ भन्ने ढङगबाट अरु बीमा कम्पनीहरु भन्दा फरक हुने कोसिसमा जुटेको यस बीमा कम्पनीले ग्राहकहरुलाई भरपुर सुविधा प्रदान गर्दै आएको छ । ज्योति लाइफ सँधै बीमीतहरुको साथमा रहेको छ । नेपालमा रहेका ११ वटा घातक रोगहरु छन्, तीनीहरुलाई समेटेर विविध ज्योति लाइफले विभिन्न योजनाहरु बनाएको छ । जस्तै, कोही व्यक्तिले जीवन बीमा गर्यो र उसलाई केही समयपछि घातक रोग लाग्यो भने ज्योति लाइफ इन्स्योरेन्सले पिडितलाई १० लाख रुपैयाँसम्म भुक्तानी गर्दछ । ज्योति लाइफ इन्स्योरेन्सले पीडित व्यक्तिले गरेको बीमा रकममा प्लस बोनस जोडेर पैसा भुक्तानी गर्ने पोलीसी बनाएको छ । 

बाल बीमाको लागि अरु बीमा कम्पनीहरुले कुल बीमाको एक प्रतिशत मासिक रकम दिने गर्दछन् । साथै, बाल बीमा भनेर १६ देखि १८ वर्ष उमेर सम्मलाई मानेर रकम दिने गर्दछन् । तर, ज्योति लाइफ इन्स्योरेन्सले बाल बीमामा पनि अरु बीमा कम्पनीहरुको भन्दा फरक बीमा पोलीसी ल्याएको छ । पहिलाका मानिसहरुले एसएलसी गरेपछि हरेक काम गर्न सक्थे । तर अहिलेका मानिसहरुले एसएलसी दिएर केही गर्ने सक्दैनन् । यी सबै कुराहरुलाई ध्यानमा राखेर, यदि बीमा गरेको बालबालिकाकोे आमा बुबालाई केहि भयो भने १८ वर्षसम्म हैन २५ वर्षसम्म बाल बीमा गर्नुपर्ने पोलीसी बनाएको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स मार्फत बालबालिकाको अभिभावकको मृत्यु भएको खण्डमा बीमा रकमको मासिक एक प्रतिशतका दरले रकम पाउने पोलीसी बनाएको छ । त्यस्तै, म्याद सकिएपछि बोनस र बीमा रकम एकमुष्ट रुपमा प्रदान गरिनेछ । 

बीमा भनेको मरेपछि मात्र हैन, बचाएर राख्न र सुरक्षा दिन पनि हो भन्ने हिसाबले ज्योति लाइफ इन्स्योरेन्सले विविध कदमहरु चाल्दै आएको छ । ज्योति लाइफ इन्स्योरेन्सले विद्यमान प्रोडक्टहरुमा नयाँ किसिमको सोच र विचारको कदमलाई अगाडी सार्दै आइरहेको छ । ज्योति लाइफ इन्स्योरेन्सले अंगभंग भएपछि मात्र सुरक्षा दिएको छैन, कुनै घटना हुनुभन्दा अगावै पनि सुरक्षित हुनलाई सचेत लगायत सेवा र सुरक्षा दिँदै आएको छ । 

जीवन बीमा गदाको फाइदाहरु के के हुन् ?
जीवन बीमा गर्दा धेरै फाइदा हुन्छ ।
बोनस : इन्स्योरेन्सबाट बोनस प्राप्त हुन्छ । मानिसहरुले जीवन बीमा गरेका हुन्छन् । बीमा समयअवधी सकिसकेपछि बीमीतमा कुनै घटना घटेको छैन भने बीमा गरेको कुल रकममा बोनस थप गरी रकम दिने गर्दछ । 
जीवन रक्षा : इन्स्योरेन्सबाट बोनसभन्दा पनि महत्वपुर्ण पक्ष भनेको जीवनको सुरक्षा हो । जीबन बीमाले मानिसको मृत्युपछि मात्र नभएर कुनै घातक रोक लाग्यो भने पनि त्यसको उपचारका लागि पैसा दिने गर्दछ ।
मानिसको जीवनमा अनेक प्रकारका विपत्तिहरु आउँछन् । यी विपत्तिमध्ये सबैभन्दा ठुलो विपत्ति मृत्यु हो । रोगव्याधि, दुर्घटना वा अन्य कुनै कारणले मानिसहरुको अकाल मृत्यु हुन सक्छ । यस्तो अवस्थामा मृतकको परिवारलाई आर्थिक टेवा दिने माध्यम भनेको बीमा नै हो । बीमा कम्पनीबाट बोनसभन्दा पनि कस्तो खालको सुरक्षा प्राप्त हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । कसलाई के हुन्छ भनेर भन्न सकिँदैन । त्यसकारण सबै मानिसहरुले बीमा गर्नुपर्छ । बीमा कम्पनीले बचत पनि गर्दछ । थोरै थोरै पैसा धेरै वर्षसम्म जम्मा गर्दै जाँदा पछि यसलाई लगानीको माध्यमबाट पनि अपनाउन सकिन्छ । 

नेपालमा बीमाप्रति आम नागरिकहरुको आकर्षण नदेखिनुको कारण के होला ? 
मेरो विचारमा, बीमाप्रति आम नागरिकहरुको आकर्षण नहुनुको कारण भनेको बीमा कम्पनीका शाखाहरुको विस्तार हुन नसक्नु हो । ९० प्रतिशतभन्दा बढि विजनेश अभिकर्तामार्फत आउने गर्दछ । ती बीमा अभिकर्ताहरुमा बीमा सम्बन्धी ज्ञानाको अभाव हुन्छ । बीमा सम्बन्धी ज्ञान भएता पनि मानिसहरुलाई बुझाएर भन्न सक्ने क्षमताको अभावका कारण नेपालमा बीमा पहुँच कम भएको जस्तो मलाई लाग्छ । 
 

ग्रामीण क्षेत्रमा बीमा पहँुच विस्तारमा ज्योति लाइफ इन्स्योरेन्सले कस्तो भुमिका खेल्दै आएको छ ?
ग्रामीण क्षेत्रमा बीमाको पहुँच विस्तारका लागि ज्योति लाइफ इन्स्योरेन्सले गाउँ गाउँमा बीमा सम्बन्धी चेतना फैलाउने विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । यसबाहेक, ज्योति लाइफले गत आर्थिक वर्षमा ६६ वटा शाखा तथा उप शाखा विस्तार गरी संचालनमा ल्याएको छ । ज्योति लाइफ इन्स्योरेन्सले सुगम अर्थात सहरी क्षेत्रमा मात्र शाखा विस्तार नगरेर शाखा विस्तार कार्यलाई दुर्गम भेगमा समेत पुर्याउने योजना राखेको छ । ५० भन्दा बढि जिल्लाहरुमा शाखा विस्तार भैसकेको छ । शाखा विस्तार कार्यलाई हरेक घर घर सबै जनताहरुको दैलोसम्म पुर्याउने योजना रहेको छ ।
 

मुलुकको अर्थतन्त्रमा बीमा क्षेत्रले कस्तो प्रभाव पारेको छ ?
मुलुकको अर्थतन्त्रमा बीमा क्षेत्रले ठुलो प्रभाव पारेको छ । एकातिर रोजगारीको सिर्जना भएको छ भने अर्कोतिर बीमीतले क्षतिपुर्ति पाएका छन् । बीमा कम्पनीहरुले सामाजिक सुरक्षा दिने गर्दछ । बीमा कम्पनीले कुनै घटना घटेपछि क्षतिपुर्ति दिनुको साथसाथै रोग लाग्दा समेत सहयोग गर्दछ । 

सर्वसाधारणहरुले ज्योति लाइफलाई नै किन रोज्ने ?
जता सेवा सुविधा धेरै हुन्छ त्यता नै मानिसहरुको आकर्षण बढि हुन्छ । त्यसकरण ज्योति लाइफ इन्स्योरेन्सलाई अरु बीमा कम्पनीहरुको भन्दा फरक ढंगले अगाडी बढाउन खोजिरहेका छौँ । सबै बीमा कम्पनीहरुको बीमा पोलीसी त एउटै हुन्छ । तर त्यहीँ बीमा पोलीसीलाई फरक ढङगले प्रयोग गर्ने सोचमा छौँ । यो हामीले बनाएको योजनालाई सर्वसाधरणहरुले पनि स्वीकार गर्नुहुन्छ जस्तो मलाई लाग्छ । ज्योति लाइफ इन्स्योरेन्सले ९ महिनाभित्र ६६ वटा शाखा विस्तार गर्न सफल भएको छ । साथै, अभिकर्ता राख्दा शिक्षित, अरुलाई बुझाउन सक्ने खालको अभिकर्ता राख्न कोसिस गरिरहेका छौँ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]