Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आँखुखोला जलविद्युत कम्पनीको आठ लाख कित्ता आईपिओमा आवेदन खुल्ला

२०७५ श्रावण १७ गते

बैंकिङ खबर । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले विहीबारदेखि आठ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । सेयर निष्काशन छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गतेसम्म खुला रहने कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेडले जनाएको छ । 

आँखु खोला हाइड्रोलाई धितोपत्र बोर्डले असार २७ गते सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयबासिन्दालाई १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । आयोजनाको कार्यालय र १५ वटा वित्तीय संस्थासहित धादिङको १६ स्थानबाट आइपीओको आवेदन दिन पाइनेछ । न्युनतम ५० देखि अधिकतम चार हजार कित्तासम्म आवेदन दिन पाइने छ ।

त्यसपछि कम्पनीले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । स्थानीयले समेत सबै सेयर नकिने बाँकी रहेको सेयर समेत सर्वसाधारण लगानीकर्ताका लागि नै निश्कासन गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । आईपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । 

आयोजनाको साधारण लगानी फिर्ता हुने समय झण्डै ९ वर्ष रहेको छ । कम्पनीको क्रेडिट रेटिङ कमजोर रहेको छ । इक्रा नेपालले आईपीओ ग्रेड ५ निर्धारण गरेको छ । पछिल्लो तीन वर्ष निरन्तर घाटामा गएको कम्पनीको गत वर्षको घाटा २३ करोड रुपैयाँ छ । यो कम्पनीले अझै ३ वर्ष नाफा गर्न नसक्ने पनि उल्लेख गरेको छ । 

कम्पनीले धादिङ जिल्लामा ८.४ मेगावाटको आँखुखोला १ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यस्तै कम्पनीले २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनामासमेत लगानी गरेको छ । २०७० भदौ ८ गतेदेखि कम्पनीले व्यवसायीक रुपमा बिजुली उत्पादन थालेको हो । आयोजना निर्माण गर्न २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत प्रतिमेगावाट २८ करोड ८९ करोड रुपैयाँ पुगेको छ ।

Ad