बैंकिङ खबर । आँखु खोला हाइड्रो पावर कम्पनीले साउन १७ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित धादिङका बासिन्दाका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । आइपीओमा छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ १५ गतेभित्रसम्म आवेदन दिइसक्नुपर्नेछ ।
आँखु खोला हाइड्रोलाई धितोपत्र बोर्डले असार २७ गते सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आइपीओ निश्कासनको अनुमति दिएको थियो । यसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर बिक्री गर्न लागेको हो ।
त्यसपछि कम्पनीले दोश्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासन गर्नेछ । स्थानीयले समेत सबै सेयर नकिने बाँकी रहेको सेयर समेत सर्वसाधारण लगानीकर्ताका लागि नै निश्कासन गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आइपीओ ग्रेड फाइभको ग्रेडिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको संकेत गर्छ । हाल कम्पनीको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ ।
यस कम्पनीबाट प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २४२.७३ करोड रहेको छ । आयोजना निर्माण सम्पन्न भई मिति २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई संचालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मे.वा. रहेको छ । आयोजनाबाट उत्पादित वार्षिक ४६ गिगावाट विद्यूत शक्ति नेपाल प्राधिकरणको केन्दीय प्रसारण लाइनमा समावेश गरिएको छ । कम्पनीले आइपीओबाट संकलित रकम आँखुखोला १ जलविद्युत आयोजना निर्माण गर्ने क्रममा लिएको सहवित्तियकरण कर्जा आंशिक रुपमा भुक्तानीमा प्रयोग गर्ने बताएको छ ।