बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बिहीबारबाट लागू हुने गरी मार्जिन कल सम्बन्धि ब्यवस्था कार्यान्वयनमा ल्याएको छ । एकीकृत निर्देशिका जारी गर्दै राष्ट्र बैंकले सुरक्षणमा राखेको सेयरको मूल्य २० प्रतिशतले घटेको अवस्थामा मार्जिन कल गर्न बाध्य नहुने व्यवस्था लागू गरेको हो । यसअघि यो सीमा १० प्रतिशत मात्रै रहेको थियो । साथै सुरक्षणमा राखिएको सेयरको मूल्य कुल कर्जा बक्यौता रकमको १.६ गुणाभन्दा बढी भएको अवस्थामा यस्तो मार्जिन कल गर्नुपर्ने छैन ।
त्यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो प्राथमिक पूँजीको बढिमा ४० प्रतिशतसम्म सेयर धितोमा ऋण दिन पाउने ब्यवस्थालाई संशोधन गरी २५ प्रतिशतमा झारेको छ । यो व्यवस्था कार्यान्वयनका लागि पुस मसान्तसम्मको समय दिइएको छ । यससरी कर्जा दिँदा बैंक तथा वित्तीय संस्थाले एउटा सूचिकृत कम्पनीको सेयरको हकमा आफ्नो प्राथमिक पुँजीको बढीमा १० प्रतिशत ननाघ्ने गरी मात्र कर्जा प्रवाह गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाहरुले ओभरड्राफ्ट लगायतका प्रयोजन नखुलेका व्यक्तिगत कर्जाहरु प्रवाह गर्दा प्रतिव्यक्ति ५० लाख रुपैयाँसम्म मात्र प्रवाह गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि प्रवाहित कर्जालाई पनि पुस मसान्तसम्ममा सीमाभित्र ल्याइसक्न निर्देशन दिइएको छ । बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जाको विवरण त्रैमासिक रुपमा नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरीवेक्षण विभागमा बुझाउनुपर्नेछ । विवरण त्रैमास सकिएको १५ दिनभित्र बुझाइसक्नुपर्छ ।