July 13th, 2018

मौद्रिक नीति आएको साता पनि सेयर बजारमा देखिएन उत्साह, परिसूचक ३२.४३ अंकले घट्यो

बैंकिङ खबर । गत साता २५.८७ अंकको वृद्धि भएको बजार यो साता पुनः गिरावटमा फर्केको छ । साताभरमा नेप्से परिसूचक ३२.४३ अंकले घटेको छ । गत साता १२२४.४१ अंकमा बन्द भएको बजार यो साता ११९१.९८ अंकमा झरेको हो । नेप्से परिसूचक साताको पाँच दिन नै घटेको थियो ।

साताभरमा दुई अर्ब ११ करोड १७ लाख ३४ हजार ६२ रुपैयाँको कारोबार भएको छ । कुल १९१ कम्पनीको ६१ लाख १२ हजार तीन सय ७० कित्ता सेयर २४ हजार तीन सय ७० पटिक खरिद विक्री भएका छन् । कारोबार रकम गत साताको तुलनामा ७७ करोड ९६ लाख ४६ हजार पाँच सय ५२ रुपैयाँ अर्थात ५८.५२ प्रतिशतले बढी हो । गत साता एक अर्ब ३३ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।  

सबैभन्दा बढी एभरेष्ट इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । जसको १५ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भएको हो । यसैगरी प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर १० करोड ७२ लाख ४० हजार रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनीको ७ करोड २४ लाख ४० हजार रुपैयाँ, लक्ष्मी बैंकको ७ करोड ३७ लाख ४० लाख रुपैयाँ र छिमेक लघुवित्त वित्तीय संस्थाको ६ करोड ८० लाख ६० हजार रुपैयाँ सेयर कारोबार भएको छ ।

कारोबार भएको सेयर संख्याको आधारमा कुमारी बैंकको संस्थापक सेयर अगाडि रहेको छ । जसको तीन लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्यामा भने रैराङ हाइड्रोपावर अग्रस्थानमा रहेको छ, जसको एक हजार चार सय ४९ वटा कारोबार भएको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]