July 11th, 2018

सेयर बजारमा बुधबार पनि गिरावट

बैंकिङ खबर । मौद्रिक नीति सार्वजनिक भएको दिन पनि सेयर बजारमा गिरावट आएको छ । बजार खुलेको तीन घण्टासम्म बढिरहेको बजारले अन्तिम एक घण्टामा ओरालो गति दिएको थियो । दिउँसो २ बजे १२२१.३० अंकसम्म पुगेको सेयर बजार अन्ततः १२०५.६४ अंकमा पुगेर बन्द भएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ०.२९ अंकले घटेको हो । 

चार घण्टाको अवधिमा सेयर बजारमा १७१ वटा कम्पनीको १२ लाख ५९ हजार आठ सय ४१ कित्ता सेयर चार हजार सात सय २६ पटक खरिदविक्री भएका छन् । जसबाट कुल ४७ करोड ६१ लाख ६६ हजार ८९ रुपैयाँको कारोबार भएको छ । बजारमा सामान्य गिरावट आए पनि कारोबार रकममा भने सुधार देखिएकोो । मंगलबार जम्मा २८ करोड ७९ लाख रुपैयाँको कारोबार भएको थियो । 

प्राइम लाइफ इन्स्योरेन्सको १० करोडमाथिको प्रोमोटर सेयरको कारोबार भएको छ । नेपाल टेलिकमको पौने पाँच करोड तथा स्वरोजगार लघुवित्त, ग्रामीण विकास लघुवित्त, कृषि विकास बैंक र कुमारी बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । यसबाहेक, धेरै कारोबार गर्ने टप १० कम्पनीको सूचिमा नेपाल इन्भेष्टमेन्ट बैंक, एनसीसी बैंक, नविल बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रहेका छन् । 

घटेको बजारमा पनि एनएमबि माइक्रोफाइनान्सका सेयरधनीले १० प्रतिशतका दरले सम्पत्ति बढाउन भ्याएका छन् । ग्लोबल आईएमई लघुवित्त र  नागवेली लघुवित्तका सेयरधनीले क्रमशः ५.६८ र ५.५४ प्रतिशतका दरले कमाएका छन् । विजय लघुवित्त, महुली सामुदायिक लघुवित्त, एनएलजी इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, आईसीएफसी फाइनान्स, सिभिल लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, एभरेष्ट बैंक सीपी, सोल्टी होटल र बरुण हाइड्रोका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । हाथवे फाइनान्स, फस्र्ट माइक्रोफाइनान्स प्रोमोटर, नेशनल हाइड्रो, प्रोग्रेसिभ फाइनान्स, कन्काई विकास बैंक, नेपाल इन्स्योरेन्स, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका  छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]