बैंकिङ खबर । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले असार २४ गतेदेखि प्राथमिक सेयर ’आइपिओ’ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा दोलखास्थित आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरका एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
साउन ९ गतेसम्म निष्काशन खुला रहने सेयरमा न्युनतम ३० कित्ता र अधितम ३०० कित्तासम्मको लागि आवदेन दिन पाइनेछ । प्रभावित क्षेत्रका बासिन्दाले दोलखाको आयोजना निर्माणस्थल त्यस्तै दोलखामा रहेका बैंकहरु कृषि विकास बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंकका शाखा कार्यालयबाट आवेदन दिन पाउने छन् । सर्वसधारणको लागि भने धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने ब्यवस्था छ ।
पहिलो चरणमा आयोजना प्रभावितका लागि १० प्रतिशत सेयर जारी गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात एक करोड ५८ लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । यस सेयरको लागि सर्वसाधारणले न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मको लागि आवेदन दिन पाउने छन् ।
कम्पनीले क्रेडिट रेटिङ इक्रा एनपी ग्रेड ४ पाएको छ ।
आयोजनामा नेपाल विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २ – २ प्रतिशत, कर्मचारी सञ्चयकोषको १७.२८, स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५, कर्मचारी सञ्चय कोषका कर्मचारीको २.८८, कम्पनी र प्राधिकरणका कर्मचारीको ३.८४ प्रतिशत सेयर स्वामित्व रहनेछ ।
दोलखाको गौरीशङ्कर गाउँपालिका १ लामा बगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाको पूर्व स्वीकृत लागत ३५ अर्ब २९ करोड भएपनि बढेर ४९ अर्ब २९ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । आगामी पुसभित्र बिजुली उत्पादन गर्नेगरि आयोजनाको काम आगाडि बढिरहेको छ ।
यस आयोजनाले दोश्रो चरणमा रोल्वाङ खोलाबाट १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाको विस्तृत अध्ययन कार्य सम्पन्न गरिसकेको छ । यस्तै माथिल्लो तामाकोशीको विद्युत्त गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण गर्न कार्य अगाडि बढाइसकेको छ ।