बैंकिङ खबर । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । संस्थाले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड ८० लाख रुपैयाँ बराबरको चार लाख ८० हजार कित्ता साधारण सेयर (आइपिओ) जारी गर्न लागेको हो ।
कम्पनीले निष्कासन गर्न लागेको कुल आइपिओमध्ये २४ लाख रुपैयाँ बराबरको २४ हजार कित्ता संस्थाका कर्मचारीलाई र सामूहिक लगानी कोष (म्युचअल फण्ड) लाई पनि २४ हजार कित्ता सेयर सुरक्षित गरिएको छ । बाँकी चार करोड ३२ लाख रुपैयाँ बराबरको चार लाख ३२ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।
लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपिओमा न्युनतम २० कित्ता र अधिकतम दुई हजार चार सय कित्तासम्म आवेदन गर्न पाइने बताइएको छ । सेयर निष्काशन छिटोमा असार १३ गते र ढिलोमा साउन ७ गतेसम्म खुला रहनेछ ।
लगानीकर्ताले कम्पनीको रजिष्टर्ड कार्यलय गजुरी, बिक्री प्रबन्धको कार्यालय तथा आस्वा सेवा प्रदान गर्ने सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न पाउनेछन् । सिडिएसीको मेरो शेयरका प्रयोगकर्ताले इन्टरनेटको माध्यमबाट घरमै बसेर पनि आवेदन गर्न सक्नेछन् ।
धादिङको गजुरीमा प्रधान कार्यालय रहेको कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्त्ता पूँजी ११ करोड २० लाख रूपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड रुपैयाँ पुग्नेछ ।
नाडेप लघुवित्तमा नबिल बैंक, विकास आयोजना सेवा केन्द्र र लुम्बिनी फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको लगानी रहेको छ । वि. सं. २०७० माघ १५ गते स्थापना भएको लघुवित्तले प्रधान कार्यालय सहित ६२ शाखा कार्यालयबाट लघुवित्त सेवा प्रदान गर्दे आइरहेको छ ।