May 15th, 2016

‘विदेशीको नोकर हैन, स्वदेशको मालिक बन्नुस्’

governor nepalडा. चिरञ्जिबी नेपाल, गभर्नर – आजको यस सम्मेलनलाई मैले महत्वपूर्ण मानेको छु । यहाँ देशभरबाट साथीहरु आउनुभएको छ । ग्रामीण गाऊँ, वस्ती तथा दुरदराजका समस्या, अनुभव र सुझावसहित आउनुभएको छ । यही अर्थमा पनि यो सम्मेलन अर्थपूर्ण छ । लघुवित्त क्षेत्रले नेपाली अर्थतन्त्रमा एकदमै सकारात्मक भूमिका खेलेको छ यसमा कसैको दुईमतै छैन । विशेषगरी ग्रामीण क्षेत्रको विकास र त्यहाँका नागरिकको जीवनस्तर उकास्न लघुवित्त संस्थाहरुको महत्वपूर्ण भूमिकाको सारहना गर्नैपर्छ । 

आत्मनिर्भर हुन सक्ने बाटाहरु हामीसँग प्रशस्तै छन् । राष्ट्र बैंकले गतवर्ष मात्रै कृषि क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तीय क्षेत्रहरुलाई बाध्यकारी व्यवस्था लागुू गरिदिएको छ । त्यसले पनि कृषिलाई व्यवसायीकरण गराउन र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न टेवा पुग्छ भन्ने अपेक्षा हामीले लिएका छौँ । अहिले एउटा सत्य हाम्रो अगाडी के छ भने, हामी ८ अर्बको तरकारी भारतबाट आयात गर्छौँ । हामीसँग उच्च उत्पादन गर्न सक्ने माटो छ, पानी छ, जनशक्ति नै पनि नभएको होइन । हामीसँग ६७ प्रतिशत श्रम गर्न सक्ने जनशक्ति पनि छ । तर आठ अर्बको तरकारी, चार अर्बको फलफूल आयात गछौँ  । यो हाम्रो लागि दुःखको कुरा हो । हामीले हामीसँगै भएको माटो, पानी र जनशक्तिको उचित प्रयोग गर्न सकेका छैनौँ । 

देशबाट आजभोली झण्डै दुई हजार वा योभन्दा बढी संख्यामा युवाहरु बिदेशिरहेका छन् । हजारौँ दक्ष जनशक्ति मुलुकमा रोजगारी भएन भनेर विदेश पलायन भईरहेका छन् । यस्तो हुनु राम्रो होइन । आफ्नो क्षमता बुझिएन भने अवसर पनि देखिदैन । त्यस्तै स्वदेशमा भएका थुप्रै अवसरहरुलाई त्यागेर विदेश गएकाहरुको सोच परिवर्तन गर्न आवश्यक छ । विदेशमा नोकर भएर काम गर्छन् तर स्वदेशमा मालिक भएर काम गर्न मान्दैनन् । सबै कुरामा सरकारको मुख ताकेर हुन्नँ । अब आफैँ केही गर्नुपर्छ । नहुने भन्ने केही छैन । (राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ को उद्घाटन कार्यक्रममा गभर्नर डाक्टर नेपालद्धारा दिइएको मन्तव्यमा आधारित)
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]