April 17th, 2018

विद्युतीय कारोबारमा सीमा : इन्टरनेट बैंकिङबाट दैनिक एक लाखको कारोबार गर्न पाइने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले विद्युतीय बैंकिङ कारोबारको सीमा तोकेको छ । जसअनुसार, इन्टरनेट बैंकिङबाट दैनिक अधिकत्तम एक लाख र मासिक पाँच लाख रुपैयाँसम्म मात्र कारोबार गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार विद्युतीय माध्यमबाट गरिने कारोबारको सीमा सम्बन्धमा एक निर्देशन जारी गर्दै उक्त सीमा कायम गरेको हो । 

मोबाइल बैंकिङबाट एक पटकमा बढिमा पाँच हजार र दैनिक १० हजार रुपैयाँसम्मको कारोबार गर्न पाइने व्यवस्था गरिएको छ । मोबाइल बैंकिङबाट मासिक ५० हजार रुपैयाँभन्दा बढीको कारोबार गर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सामान्य अवस्थामा एक लाख रुपैयाँभन्दा बढिको प्रिपेड कार्ड जारि गर्न नपाइने ब्यवस्था गरेको छ । साथै प्रिपेड कार्डबाट नेपालभित्र नगद झिक्दा न्युनतम पाँच सय र अधिकतम १० हजारसम्म झिक्न पाइने ब्यवस्था गरिएको छ । एक महिनामा भने ५० हजारसम्म झिक्न पाइने छ । अत्यावश्यक अबस्थामा पनि स्विकृति क्रेडिट कार्डको सीमामा रहि २५ प्रतिशत अर्थात २५ हजार भन्दा बढि नगद झिक्न नपाइने भएको छ ।

डेबिट कार्डबाट नगद कारोबार गर्दा एकपटकमा न्यूनतम पाँच सयदेखि अधिकतम २५ हजारसम्म झिक्न पाइने भएको छ । यस्तो कारोबार प्रतिदिन अधिकतम एक लाखसम्म गर्न पाइने निर्देशनमा उल्लेख छ । यसमा पनि बैंकहरुले सुरक्षा सम्बेदनशीलता जस्ता कारण देखाएर यस्तो सीमा घटाउन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

रेमिट्यान्सको रकम एक लाखभन्दा बढी नगद लिन नपाइने व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । सोभन्दा बढी नगद लिनुपरेमा बैंक खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्ने भएको छ । यो व्यवस्था आगामी श्रावणदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ । त्यसअघिसम्म भने यस्तो रकम २ लाख रुपैयाँसम्म नगदै लिन पाइनेछ ।

सरकारले सम्बन्धित कार्यालयमा भुक्तान गर्नुपर्ने कर, राजस्व, जरिबाना, सवारी दस्तुर, रजिस्ट्रेसन तथा सेवा शुल्क अब वालेटमार्फत भुक्तानी गर्न सकिनेछ। नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक संस्था, खानेपानी सेवा, शिक्षण संस्था–विद्यालय र कलेज, स्वास्थ्य संस्था, यातायात सेवा, होटल तथा रेस्टुरेन्ट सेवा, सामाजिक सुरक्षा भत्ताबापत भुक्तानी गर्नुपर्ने शुल्कको बिल वालेटबाट भुक्तानी गर्न सकिनेछ । तर, यसरी भुक्तानी गरिएको रकमको विवरण अद्यावधिक गरी राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।                                                   

एजेन्ट वा सब एजेन्टमार्फत इ वालेट, मोबाइल वालेट वा डिजिटल वालेटमा नगद जम्मा गर्दा एक पटकमा अधिकतम पाँच हजार सम्म गर्न सकिने प्रस्ताव गरिएको हो । उनीहरूबाट कारोबार गर्दा प्रतिदिन अधिकतम १५ हजार र मासिक अधिकतम २५ हजारसम्म रकम जम्मा गर्न सकिनेछ । यी माध्यमबाट भुक्तानी गर्दा भने एक पटकमा अधिकतम पाँच हजार, प्रतिदिन १५ हजार र मासिक अधिकतम २५ हजारभन्दा बढीको भुक्तानी कारोबार गर्न पाइने छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]