April 9th, 2018

सेयरको प्राथमिक र दोस्रो बजार : कुन बजारमा कसरी किन्ने सेयर ?

बैंकिङ खबर । सेयर बजारलाई प्राथमिक निष्काशन र दोस्रो निष्काशन गरी दुई भागमा विभाजन गरिएको हुन्छ । कम्पनीले पहिलो पटक (सुरुमा) निष्कासन गरेको सेयरलाई प्राथमिक सेयर बजार भनिन्छ । चुक्ता पुँजीको निश्चित प्रतिशत सेयर सर्वसाधारणलाई वितरण गर्न कम्पनीहरूले प्राथमिक निष्कासन गर्छन् । कतिपय अवस्थामा फर्दर पब्लिक अफरिङ (एफपिओ) मार्फत पनि सर्वसाधारणलाई सेयर निष्कासन गरिन्छ । 

कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरिसकेपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्नुपर्छ । सूचीकृत भएको बढीमा सात दिनभित्र ती सेयरको कारोबार हुन्छ । यसलाई दोस्रो बजार भनिन्छ । दोस्रो बजारमा धितोपत्र ब्रोकर कम्पनीमार्फत सेयर खरिदरबिक्री हुन्छ । 

प्राथमिक बजारमा यसरी किन्ने सेयर 
प्राथमिक सेयर (आईपिओ तथा एफपिओ) निष्कासनका लागि कम्पनीले राष्ट्रिय दैनिक पत्रिकामा सूचना (विवरणपत्र) प्रकाशन गर्नुपर्छ । त्यसमा कति रकमको सेयर खुलेको हो, कति मूल्यमा, कहिलेसम्म आवेदन दिन पाइन्छ, आवेदन फारम कहाँ पाइन्छ, लगानी गर्न सकिने न्यूनतम र अधिकतम सीमा कति होलगायत सम्पूर्ण विवरण हुन्छ । यसकारण प्राथमिक सेयरमा लगानी गर्नुअघि यस्तो विवरणपत्र हेर्नुपर्छ । प्राथमिक बजारमा सेयर खरिद गर्दा सिआस्वा सेवा अनिवार्य गरिएको छ । यसका लागि डिम्याट खाता पनि अनिवार्य रुपमा खोलिएको हुनुपर्छ । 

यो प्रणालीबाट सेयर आवेदन दिनका लागि लगानीकर्ताले आफनो आस्वा सेवा भएको बैंकमा गएर सुरुमा सिआस्वा प्रणाली सुविधा लिनको लागि आवेदन दिनुपर्दछ । त्यसपछि बैंकले लगानीकर्ताको पहिचान गरी सफ्टवेरमा भेरिफिकेशन गरी लगानीकर्तालाई एउटा भेरिफिकेशन कोडको रुपमा सिआरएन अर्थात सिआस्बा रजिष्ट्रेसन नम्बर दिन्छ । त्यसपछि तपाईँले आफ्नो डिम्याट खाता पनि रुजु गराउनुपर्ने हुन्छ । एकपटक आफ्नो खाता रहेको बैंकबाट सिआरएन नम्बर प्राप्त गरेपछि सिडिएससीको अनलाइन वेभसाइटमा गएर आवेदन गर्न सक्नेछन् । अथवा, सिआस्वा सेवा उपलब्ध भएका बैंक तथा वित्तीय संस्थाको वेभसाइटमार्फत पनि सेयर आवेदन दिन सकिन्छ ।

यस्तो सेवा लिनका लागि बैंकको वेभसाईटमा गएर आस्बा अनलाइन (केही बैंकको इन्टरनेट बैंकिङमा लगइन गरे पछि मात्र आस्बा अनलाइनको सेवा आउँछ) लेखिएको स्थानमा क्लिक गर्नु पर्छ । सेवाग्राहीलाई बैंकले उपलब्ध गराएको अनलाइन बैंकिङको लगइन आईडी तथा पासवर्डबाट लग इन गरी सेयर आवेदनका लागि माग गरिएको निर्देशन पुरा गर्नुपर्ने हुन्छ । 

बाँडफाँड भएको सेयर आफूलाई कति कित्ता पर्यो भनेर हेर्नुपर्छ । सेयर निष्काशनकर्ता (बिक्री प्रबन्धक) को कार्यालय, विभिन्न वेबसाइटमार्फत सेयर बाँडफाँडको नतिजा थाहा पाउन सकिन्छ । आस्बामा अनलाइनबाट सेयर आवेदन गरेपछि बैंकले बैंक खाताधनीलाई रकम रोक्का गरेको तथा फुकुवा गरेको सबै जानकारी सहितको डिजिटल कागजात उपलब्ध गराउँछ । आफूलाई परेको सेयर बिक्री गर्नका लागि दोस्रो बजारमै जानुपर्छ । 

दोस्रो बजारमा यसरी किन्ने सेयर
दोस्रो बजारमा सेयर कारोबारका लागि लगानीकर्ताले धितोपत्र ब्रोकरकहाँ जानुपर्छ । लगानीकर्ताको आदेशबमोजिम सेयरको खरिद र बिक्री गरिदिनका लागि धितोपत्र बोर्डबाट अनुमतिप्राप्त कम्पनीलाई स्टक ब्रोकर (धितोपत्र दलाल) भनिन्छ । सर्वप्रथम कुनै एक ब्रोकर कम्पनीमा गएर लगानीकर्ता परिचयपत्र नम्बर (इन्भेस्टर्स आईडी) लिनुपर्छ । उक्त नम्बर लिनका लागि ब्रोकर कार्यालयमा गएर एउटा फारम भर्नुपर्छ । लगानीकर्ताको पूर्ण पहिचानसहितको उक्त फारमसँगै आफ्नो नागरिकताको फोटोकपी पनि बुझाउनुपर्छ । त्यसपछि मात्र दोस्रो बजारमा लगानी गर्न बाटो खुल्छ । दोस्रो बजारमा सेयर कारोबारका लागि सर्वप्रथम लगानी गर्ने कम्पनी छनोट गर्नुपर्छ । त्यसपछि ब्रोकर कम्पनीमा गएर खरिद आदेश दिनुपर्छ । यस्तो आदेशपछि ब्रोकरले तपाईंका लागि सेयर खरिद गरिदिन्छ । सेयर कारोबार भएपछि प्राप्त गरेको रकम, धितोपत्र वा कागजात प्राप्त गरेकै दिन वा भोलिपल्टसम्म सम्बन्धित पक्षलाई बुझाउनुपर्नेछ । सेयर बिक्री गर्न चाहेको हो भने पनि ब्रोकर कम्पनीमा गएर बिक्रीका लागि आदेश दिनुपर्छ । यसरी बिक्री भएको सेयरबापतको पैसा त्यही दिन वा भोलिपल्ट ब्रोकर कम्पनीले भुक्तानी दिनेछ ।

अहिले दोस्रो बजारमा पनि अनलाइन ट्रेडिङ सुरु गर्ने प्रक्रिया चलिरहेको छ । आगामी जेठमा अनलाइन ट्रेडिङको परीक्षण गर्ने र आगामी आर्थिक वर्षदेखि औपचारिक रुपमा नै अनलाइन कारोबार सुरु गर्ने नेप्सेको योजना छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]