April 5th, 2018

दोहोरो अंकको वृद्धि विहीबार पनि कायम, १३ कम्पनीका सेयरधनीले गुमाए

बैंकिङ खबर । साताको अन्तिम दिन पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सबै उपसूचक उकालो लागेपनि नेप्से परिसूचक २३.९४ अंकले बढेर १२५०.३९ अंकमा पुगेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः १८.९९, १४.७ १, ३१.८१, ३५.७५, ५.१, १७४.९५, ४९.५६, ७.९२ र ३५.४५ अंकले बढेका छन् भने व्यापार समूह स्थिर रहेको छ ।

बजार बढेसँगै कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । दिनभरिमा १६८ वटा कम्पनीको १५ लाख १४ हजार तीन सय ६९ कित्ता सेयर आठ हजार सात सय पाँच पटक खरिदविक्री हुँदा ६१ करोड ९३ लाख ८३ हजार आठ सय ६६ रुपैयाँको कारोबार भएको छ । बुधबार ३३ करोड ६४ लाख रुपैयाँको कारोबार भएको थियो ।

नेपाल इन्स्योरेन्सको सबैभन्दा धेरै तीन करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ । नविल बैंक र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड तथा स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, नेपाल बैंक, एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।

तिनाउ विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै ९.०४ प्रतिशतका दरले कमाएका छन् । मिथिला लघुवित्त,  ओम डेभलपमेन्ट बैंक र सिद्धार्थ इक्विटी फण्डका सेयरधनीले आठ प्रतिशत, प्रोग्रेसिभ फाइनान्स र तारागाउँ रिजेन्सीका सेयरधनीले सात प्रतिशत तथा श्री इन्भेष्टमेन्ट फाइनान्स, नयाँ नेपाल लघुवित्त, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

१३ वटा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । सबैभन्दा धेरै गुहेश्वरी फाइनान्सका सेयरधनीले ५.१९ प्रतिशतका दरले गुमाएका छन् ।  पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, एलआईसी नेपाल, नेपाल हाइड्रो, युनाइटेड मोदी हाइड्रो, बेष्ट फाइनान्स, सहयोगी विकास बैंक, नागबेली लघुवित्त, नेशनल हाइड्रो,  आईसीएफसी फाइनान्स, सोल्टी होटल र साना किसान विकास बैंकका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]