April 3rd, 2018

६.०४ अंकले बढ्यो सेयर बजार, कारोबारमा सामान्य वृद्धि

बैंकिङ खबर । मंगलबार सेयर बजार ६.०४ अंकले बढेर ११९९ अंकमा पुगेको छ । फाइनान्सबाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै उत्पादनमूलक समूह ६३.०७ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, बीमा, अन्य र लघुवित्त समूह क्रमशः ३.३९, २.७, १२.९९, ११.१८, १३.३८, २५.२८, ५.८१ र २.१४ अंकले बढेका छन् । फाइनान्स भने १.६१ अंकले घटेको छ ।

कारोबार रकम सोमबारको तुलनामा सामान्य बढेको छ । दिनभरिमा १६० वटा कम्पनीको छ लाख ६६ हजार पाँच सय ९६ कित्ता सेयर तीन हजार पाँच सय ८४ पटक खरिदविक्री हुँदा २१ करोड ८१ लाख ६६ हजार तीन सय १६ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नागरिक लगानी कोष, स्टान्डर्ड चार्टर्ड बैंक, नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोडमाथिको सेयर कारोबार भएको छ । एभरेष्ट बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ७२ लाख, ग्लोबल आईएमई बैंक र चिलिमे हाइड्रोको ६० लाख तथा सानिमा बैंकको ५२ लाख र नेपाल एसबीआई बैंकको ४६ लाखमाथिको कारोबार भएको छ । 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका सेयरधनीले सबैभन्दा धेरै ६.७८ प्रतिशतका दरले कमाउँदा समता माइक्रोफाइनान्स, सूर्या लाइफ इन्स्योरेन्स र युनिलिभर नेपालका सेयरधनीले चार प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । बुटवल पावर कम्पनी, लक्ष्मी लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक (सीपीं, नेशनल हाइड्रो, अपि पावर कम्पनी लगायतका सेयरधनीले पनि कमाएका  छन् । 

यता, बरुण हाइड्रो र अरुण भ्याली हाइड्रोका सेयरधनीले क्रमशः ५.६७ र ५.१६ प्रतिशतका दरले गुमाएका छन् । ललितपूर फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, गुहेश्वरी फाइनान्स, ओम डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, नेरुडे लघुवित्त, एनआईबिएल प्रगति फण्ड लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]