May 13th, 2016

आफ्नै नामको ऋणपत्र जारी गर्दै राष्ट्र बैँक

nrbनेपाल राष्ट्र बैँकले एक बर्षे अवधिको' नेपाल राष्ट्र बैंक ऋणपत्र' जारी गर्ने भएको छ । राष्ट्र बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको वैठकले ५० अर्ब रुपैयाँको  ऋणपत्र जारी गर्ने निर्णय गरेको हो । बजारमा अधिक लगानी योग्य पुँजी थुप्रिएपछि नेपाल राष्ट्र बैंकले २४ बर्षपछि आफ्नै नाममा ऋणपत्र जारी गर्ने भएको छ । 

यसअघि, राष्ट्र बैंकले २०५१ सालमा राष्ट्र बैँक ऋणपत्र जारी गरेको थियो । राष्ट्र बैंकले २०४९ सालदेखि २०५१ सालसम्म यस्तो ऋणपत्र जारी गर्ने क्रमलाई निरन्तरता दिएको थियो । त्यसयता राष्ट्र बैँकले सरकारका लागि मात्रै ऋणपत्र जारी गर्दै आएको छ । 

५० खर्बको ऋणपत्र एकैपटक जारी नगरेर तालिका बनाई पटकपटक गरेर जारी गरिने बताइएको छ । राष्ट्र बैंकले जारी गर्ने ऋणपत्र सरकारले जारी गर्ने भन्दा केही फरक हुन्छ । सरकारले राष्ट्र बैंकमार्फत उठाउने ऋणपत्र बजेटमै व्यवस्था हुन्छ । यो पैसा विकास निर्माणमा प्रयोग हुन्छ । राष्ट्र बैंकले आफ्नो नाममा निष्काशन गर्ने ऋणपत्रबाट उठ्ने रकम विकास निर्माणमा खर्च हुँदैन, राष्ट्र बैंकमै जम्मा भएर बस्छ । यसको ब्याज राष्ट्र बैंकले आफ्नै कोषबाट भुक्तानी गर्नु पर्ने हुन्छ । राष्ट्र बैंक ऋणपत्रको ब्याज दर बैंकहरुले बोलकवोल माध्यमबाट निश्चित गर्ने गर्दछन् । 
 
सरकार अहिलेसम्मकै उच्च बचतमा छ । सरकारको कोषमा २ सय अर्ब रुपैयाँ थुप्रिएको छ । यो पैसा असार मसान्तसम्म बजारमा आउने भएकाले तरलता थप बृद्धि हुने छ । यस वाहेक राष्ट्र बैंकमा ५० अर्ब रुपैयाँ बचत थुप्रिएको छ भने बैंकहरुसँग २० अर्ब रुपैयाँ अधिक तरलता छ । अहिलेसम्म राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ट्रेजरी विल, रिभर्स रिपो तथा निक्षेप वोलकवोलजस्ता मोद्रिक उपकरणहरु प्रयोग गर्दै आएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]