बैंकिङ खबर । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । नेप्से परिसूचक दुई वर्षअघिको विन्दुमा फर्किएको छ । निरन्तर बजार घट्दा लगानीकर्ताहरु आत्तिएका छन् । लगानीकर्ताहरुको करोडौँ रुपैयाँ लगानी डुबेको छ । नेपालको सेयर बजारमा बुझेर लगानी गर्नेभन्दा पनि अरुको लहलहैमा लागेर लगानी गर्नेहरु धेरै छन् । उनीहरु सेयर बजारको गिरावट देखेर आत्तिएका छन् । बजारको यस्तो अवस्थामा कसरी रियाक्ट गर्ने विषयमा जानकारी नभएका थुप्रै लगानीकर्ता बजारमा छन् । उनीहरुले सेयर बजार बढ्दा कमाई हुने र घट्दा गुमाइने भन्ने बुझेका छन् । तर, सेयर बजार घटेको बेलामा पनि आफ्नो लगानी सुरक्षित गर्न सकिने जानकारहरु बताउँछन् ।
सेयर बजारको उतारचढावप्रति लगानीकर्ताले रियाक्ट गर्नु स्वभाविक भएको सेयरविज्ञ डा. गोपाल भट्टको तर्क छ । यद्यपि, कस्तो अवस्थामा सेयर किन्ने र कस्तो अवस्थामा बेच्ने भन्नेबारे जानकारी सेयर लगानीकर्तामा हुनुपर्ने उनी बताउँछन् । नेपालको परिप्रेक्ष्यमा सबैले बजारमा लगानी गर्ने, आफुले लिएको सेयरको मूल्य बढ्यो भने प्रोफिट बूक गर्ने तर मूल्य घट्यो भने रिटर्न नेगेटिभ हुने बजार छ । तर, स्टक मार्केटहरु विकसित भएका मुलकहरुमा बजार उकालो लागेपनि ओरालो लागेपनि लगानीकर्ताले प्रोफिट बूक गर्न सक्ने अवस्था रहेको छ । डा. भट्ट भन्छन्, ‘बजार घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानीकर्तालाई फाइदा नै हुन्छ ।’
त्यस्तै, सर्ट सेलिङबाट पनि लगानीकर्ताले फाइदा लिन सक्ने डा. भट्टको भनाई छ । उनी भन्छन्, ‘बजार घट्न लाग्यो भने त्यतिबेलै फाइदा लिन लगानीकर्ताले अहिले सेयर बेचिदिन्छ । अहिलेको मूल्यमा सेयर किन्छ र भोलि अरुबाट बरो गरेको सेयर हुन्छ, भोलि सस्तोमा किनेर त्यो बरो गरेको सेयरलाई फिर्ता गरिदिन्छ । त्यहाँ उसले अहिले बढीमा बेचेको हुन्छ कममा किनेर फिर्ता गरेको हुनाले त्यो बेलामा पनि उसलाई फाइदा हुन्छ ।’
त्यस्तै, सेयर विश्लेषक रविन्द्र भट्टराई सेयर बजारले १२ महिना नै अवसर दिइरहने बताउँछन् । सेयर बजारमा सँधै कारोबार भइरहने र हरेक कम्पनीको मूल्य घटबढ भइरहने भएकाले कुन कम्पनीका कति जोखिम छ भनेर बुझ्न सके सेयर बजारबाट फाइदा लिन सकिने उनको भनाई छ । बजारमा आएको उतारचढावबाट नआत्तिई अनुभवकै लागि भएपनि थोरैथोरै लगानी गर्दै जानुपर्ने उनी बताउँछन् ।
प्रशिद्ध लगानीकर्ता वारेन बुफेटले पनि भनेका छन् ‘‘अरु डराउँदा तपाई लोभी बन्नुहोस् र अरु लोभी बन्दा तपाई डराउनुहोस् ।” यसको मतलव अरु डराएर सेयर बेच्दा आफु किन्नलाई तयार बन्नुहोस् । अनि अरुले सेयर किन्न लोभ गर्दा तपाई डराउनुहोस् र आफुसँग भएको सेयर बेच्नुहोस् ।