बैंकिङ खबर । सोमबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । सबै उपसूचक ओरालो लागेपछि नेप्से परिसूचक १५.७८ अंकको गिरावटसँगै १३५८.९५ अंकमा कायम भएको छ । बीमा समूह सबैभन्दा धेरै १२२.५ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः ९.८४, २.११, ५७.८, ११.५, २९.२८, ६.१७, ३२.४२, ८.९७ र ३०.१६ अंकले घटेका छन् ।
परिसूचक घटेपनि कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ । आकर्षक बोनस प्रस्तावका कारण नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा आकर्षण बढेपछि कारोबार रकम आधा अर्ब नाघेको छ । दिनभरिमा १५१ वटा कम्पनीको १४ लाख ३८ हजार आठ सय ८६ कित्ता सेयर चार हजार आठ सय दुई पटक खरिदविक्री हुँदा ५५ करोड २४ लाख २० हजार दुई सय ७० रुपैयाँको कारोबार भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको मात्रै साढे १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने प्रभु बैंक र एनसीसी बैंक प्रोमोटरको क्रमशः पाँच करोड ९० लाख र पाँच करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको दुई करोड तथा सांग्रिला डेभलपमेन्ट बैंक प्रोमोटर, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, नविल बैंक, प्रोग्रेसिभ फाइनान्स प्रोमोटर र प्राइम लाइफ इन्स्योरेन्सको एक करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको ९७ लाख रुपैयाँको कारोबार भएको छ ।
जम्मा १९ वटा कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले सबैभन्दा धेरै ४.२४ प्रतिशतका दरले कमाएका छन् । सूर्योदय लघुवित्त, अपि पावर कम्पनी, बेष्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, पूर्णिमा विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, कन्काई विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, स्वरोजगार लघुवित्त, राष्ट्रिय बीमा कम्पनी र सिनर्जी पावरका सेयरधनीले क्रमशः ८.६३, ७.५०, ५.५९ र ५.२२ प्रतिशतका दरले गुमाएका छन् । समिट माइक्रोफाइनान्स, अरुण भ्याली हाइड्रो, युनाइटेड इन्स्योरेन्स, विजय लघुवित्त, एनएलजि इन्स्योरेन्स, आईसीएफसी फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।