बैंकिङ खबर । अहिले नेपालको बैंकिङ क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रम जारी छ । अहिले मानिसहरुले जतिसक्दो छिटो र कम खर्चिलो सेवा खोजिरहेका हुन्छन् । मानिसहरुको यस्ता चाहाना पूरा गर्नका लागि प्रविधि नै उपयुक्त माध्यम बन्न सक्छन् । त्यसैले त नेपाली बैंकिङ क्षेत्रमा नयाँ प्रविधि र प्रभावकारी सफ्टवेयरहरु भित्रिने क्रम जारी छ । जसका कारण ग्राहकहरुले विगतको तुलनामा निकै राहत महशुस गरेका छन् ।
लघुवित्तमा प्रविधिको प्रयोग
लघुवित्त वित्तीय संस्थाहरु पनि अब डिजिटल मोडेलमा जानुपर्ने आवश्यकता औँल्याइएको छ । प्रविधिको प्रयोग गरेको खण्डमा एउटा लघुवित्तबाट लिएको ऋण छलेर अर्कोबाट लिन नसकिने भएकाले लघुवित्त क्षेत्रमा पछिल्लो समय देखिएको विकृति हटाउन मद्दत मिल्ने विज्ञहरु बताउँछन् । बायोमेट्रिकको प्रयोग गरी औंठा हालेको रेकर्ड सर्भरमा बस्ने भएकाले छलछाम हुन नसक्ने विज्ञहरुको भनाई छ । प्रविधिको प्रयोगले समयको बचत हुन जाँदा समूहमा आउन सदस्यलाई थप आकर्षित गर्ने महशूस गरिएको छ ।
लघुवित्तमा ट्याबलेट बैंकिङ
पछिल्लो समय माइक्रोफाइनान्सहरु पनि प्रविधिमैत्री बन्ने कोशिसमा छन् । लघुवित्तहरुले अहिले ‘ट्यावलेट बैंकिङ’ प्रविधिबाट आफ्ना ग्राहकहरुलाई सेवा दिइरहेको माइक्रोफाइनान्स बैंकर्स एशोसियसनका अध्यक्ष जोशीको भनाई छ । ‘अहिले ग्राहकहरुलाई सहज तरिकाबाट सेवा सुविधा दिन ट्यावलेट बैंकिङ सञ्चालनमा ल्याइसकेका छौ’ जोशीले भने – ‘मुलुकमा बैैंकिङ प्रविधिको विकास भएसँगै हामीले ट्यालेट बैंकिङ भित्राएका छौं, यसले खर्च कम हुनुका साथै सहज तरिकाले कर्जा अशुली तथा लगानी गर्न सकिन्छ ।’ डिजिटल महिला कार्यक्रम अन्तर्गत यो प्रविधि अहिले सञ्चालन भइरहेको उनको भनाई छ । कार्यबाहक अध्यक्ष जोशीका अनुसार ट्याबलेट बैंकिङ चलाउनका लागि ग्राहक समूह मध्येबाट कम्तिमा निम्नमाध्यमिक शिक्षा पढेका महिलाहरुलाई ३ महिने तालिम दिएर पछि उनीहरुले ट्याबलेट बैंकिङ चलाउने छन् । इन्टरनेट नभएको ठाउँमा पनि ट्यावलेट बैंकिङबाट सुविधा लिन सक्ने जोशीको भनाई छ । इन्टरनेट नभएका ठाउँका लागि अफलाइन सफ्वेयर निर्माण गरिएकाले जस्तोसुकै विकट क्षेत्रमा पनि ट्यावलेट बैंकिङबाट सेवा लिन सकिने उनले बताए । ग्राहक सदस्यभित्रकै कुनै महिलालाई तालिम दिएर ट्यावलेट बैंकिङ सेवा दिन लगाउने र त्यो सेवा दिए वापत ति ग्राहकलाई पारिश्रमिक समेत दिने व्यवस्था गरिएको जोशीले बताए ।
के हो ट्याबलेट बैंकिङ ?
ट्याबलेट बैंकिङ सेवा एक अत्याधुनिक बैंकिङ प्रविधि हो । ट्याबलेट बैंकिङ सेवाको माध्इयमबा ग्राहकमा कर्जा लगानी तथा असुली गर्न सक्छन । यसको माध्यमबाट ग्राहकले खाता खोलेर बचत गर्न सक्छन् । साथै बचत रकम भुक्तानी लिन पनि सक्ने छन् । रेमिट्यान्स भुक्तानी पनि यसैबाट हुने छ । बैंकले ग्रामिण तथा विछडिएका वर्गका विपन्न परिवारलाई वित्तीय सेवा पुर्याउन प्रविधिको सहायता लिइएको एशोसियसनका कार्यबाहक अध्यक्ष जोशीको भनाई छ । ट्याबलेट बैंकिङ सेवा लघुवित्तमा पहिलो पटक छिमेक लघुवित्त विकास बैंकले भित्राएको हो ।
एटिएम भित्राउन सकेनन्
वित्तीय क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिने क्रममा सहकारी संस्थाले समेत एटिएम मेसिन सञ्चालनमा ल्याइसक्दा समेत नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीयको अनुमति दिएका लघुवित्त वित्तीय संस्थाहरुले एटिएम भित्राउन सकेका छैनन् । मुलुकमा हाल ५३ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा भए पनि कसैले पनि हालसम्म एटिएम सञ्चालनमा ल्याइनसकेको माइक्रोफाइनान्स बैंकर्स संघका अध्यक्ष जोशीले बताए ।
ग्रामीण जनतालाई एटिएम सेवा दिन समस्या
‘लघुवित्तहरुले दुर्गम भेगका जनतालाई सेवा दिने हो’ बैंकिङ खबरसँग कुरा गर्दै कार्यबाहक अध्यक्ष जोशीले भने – ‘ग्रामीण भेगमा एटिएम सेवा दिन धेरै समस्याहरु भएकाले पनि माइक्रोफाइनान्सहरुले यो प्रविधि भित्राएका छैनन् ।’ ग्रामिण भेगका जनताहरुमा अझै वित्तीय चेतनाको कमी रहेको भन्दै जोशीले माइक्रोफाइनान्सले एटिएम भित्राउनु भन्दा पहिले त्यसको प्रयोगबारे सिकाउनु पर्ने बताए । सुरक्षाको दृष्टिले पनि ग्रामिण भेगमा एटिएम सञ्चालन गर्न गाह्रो भएको कार्यबाहक अध्यक्ष जोशीको भनाई थियो ।




