बैंकिङ खबर । विभिन्न छ बीमा कम्पनीले ३१ करोड ४३ लाख ३८ हजार हाठ सय ३६ कित्ता हकप्रद सेयर निष्कासनको तयारी गरेका छन् । नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बीमा कम्पनीले हकप्रद सेयर बिक्री गर्न लागेका हुन् । ती बीमा कम्पनीले कूल रु छ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डम आवेदन दिएका छ बीमा कम्पनी
सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद सेयर दिन लागेको छ । एनआइसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२।७३ मा पाँच प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो ।
सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले रु २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो । सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दश कित्ता सेयर बराबर ३.५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । सो बीमा कम्पनीले आव २०७३/७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो ।
गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद सेयर रु २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । कम्पनीले आव २०७२।७३ मा आठ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको हो ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर रु ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेष्टले आव २०७२र७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ९९ लाख ३६ हजार चार सय ७७ कित्ता हकप्रद सेयर रु ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३।७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद सेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१।७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।
नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको सेयर सूचीकृत रहेको छ ।




