Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

दोस्रो बैंकिङ एक्स्पोका आकर्षक पक्ष

२०७४ माघ १९ गते

बैंकिङ खबर । दोस्रो बैंकिङ एक्स्पो २०१८ ले विशेषगरी मेनेजमेन्टका विद्यार्थीहरुलाई फोकस गरेर अत्यावश्यकीय जानकारी प्रदान गर्ने लक्ष्य लिएको छ । बैंक वित्तसम्बन्धी सूचना मेलाको रुपमा आयोजना गर्न लागिएको एक्स्पोले विशेष गरी मेनेजमेन्ट अध्ययन गरेका वा गरिरहेका विद्यार्थी वर्ग, गरिरहेको व्यवसाय बढाउन चाहने उद्यमीहरु, रकमको अभावमा उद्यम सुरु गर्न नसकिरहेका जुझारु युवा र स्वदेशमै केही गर्छु भनेर अवसर खोजिरहेका व्यक्तिहरुलाई लक्षित गरेको संयोजक माधव निर्दोषले जानकारी दिए । यस्ता छन्, बैंकिङ एक्स्पोका आकर्षक पक्षहरु :

सूचनामूलक स्टलहरु
काठमाडौँमा दोस्रोपटक आयोजना गर्न लागिएको बैंकिङ एक्स्पोमा बैंक वित्तका सूचनामूलक स्टलहरु रहेका छन् । एक्स्पोमा तथा बैंक, बीमा, रेमिट्यान्स, माइक्रोफाइनन्स एवम् सेयर बजारसँग सम्बन्धित विभिन्न संस्थाहरुले सूचनामूलक स्टल राखेका छन् । साथमा युवा स्वरो्जगार कोष, बीमा समिति, ब्रोकर एसोसिएसन लगायत विभिन्न वित्तीय संघसंस्था मर्चेन्ट बैंक लगायतले आआफ्नो सूचनामूलक स्टलहरु संचालन गरेका छन् । सम्बन्धित संस्थाको स्टलमा गएर अवलोकनकर्ताहरुले उक्त संस्थाको सेवा सुविधाको बारेमा जानकारी लिन सक्नेछन् । 

प्रवेश निशूल्क
एक्स्पोमा सहभागी हुनका लागि कुनै किसिमको शूल्क लाग्ने छैन । कार्यक्रम अवधिभर निशूल्क रुपमा प्रवेश गरी सहभागीहरुले बैंकिङ नलेज प्राप्त गर्न सक्नेछन् । युवा स्वरोजगार कोषबाट विनाधितो कर्जा कसरी पाउने ? बैंकले के आधारमा कर्जा दिन्छ ? कुन बैंकमा पैसा राख्दा कति व्याज आउँछ ? कस्तो प्रकारको बैंकले दिने सेवा सुविधा कस्तो हो ? बीमा के हो, किन र कसरी गर्ने ? कुन बीमा कम्पनीले कस्तो सेवा दिन्छन् ? लगायत थुप्रै अत्यावश्यकीय जानकारीहरु बैंकिङ एक्स्पोमा प्राप्त गर्न सकिनेछ । बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहने वा आफैँ उद्यमी बन्न चाहने सबैका लागि बैंकिङ एक्स्पो एक महत्वपूर्ण अवसर सावित हुने अपेक्षा गरिएको छ ।

गोष्ठी संचालन
एक्स्पोमा दुई दिनसम्म बैंक, बीमा, सेयर बजार एवम् उद्यमशीलता विषयमा विषयगत विज्ञहरु सम्मिलित गोष्ठी समेत संचालन हुनेछ । यसपालीको एक्स्पोमा सेयर बजार र बैंकिङ प्रविधिलाई फोकस गरेर गोष्ठी संचालन गरिनेछ । उक्त गोष्ठीमा सम्बन्धित विषयका विज्ञहरुद्धारा अत्यावश्यकीय जानकारी दिइनेछ भने सहभागीहरुको जिज्ञासाहरुको सम्बोधन पनि गरिनेछ । 

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालबाट विहान ११ बजे कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । समुद्घाटन कार्यक्रममा  नेपाल धितोपत्र बोर्ड, बीमा समिति, यूवा स्वरोजगार कोष, नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैकर्स एसोसिएसन, वित्तीय संस्था संघ, माइक्रोफाइनान्स बैकर्स संघ लगायत अन्य बैंक, बीमा र सेयरसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरुको आतिथ्यता रहनेछ ।

त्यस्तै, दिउसो साढे दुई बजेदेखि बैंकिङ प्रविधि विशेष अन्तक्र्रिया कार्यक्रम संचालन गरिनेछ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रीमान् चिन्तामणि सिवाकोटीको प्रमुख आतिथ्यतामा संचालन गरिने कार्यक्रममा निलेशमान सिंह प्रधान (नेपाल क्लियरिङ हाउस), बैंकर्स संघका पदाधिकारी, नेपाल राष्ट्र बैंकका कार्यकारी अधिकृत एवम् बैंकिङ प्रविधि सम्बन्धी अन्य जानकार व्यक्तित्वहरुले विषयसँग सम्बन्धित रहेका आफ्नो भनाई राख्नेछन् । साथमा सहभागीहरुको जिज्ञासाको सम्बोधन पनि गर्नेछन् । 

मेनेजमेन्ट स्टुडेन्टका लागि अपरिहार्य
अहिले मेनेजमेन्ट नै अध्ययन गरिरहेका विद्यार्थीहरुमा पनि वित्तीय चेतनाको कमी पाइएको छ । मेनेजमेन्ट अध्ययन गरेर बैंकमा जागीर खाने सपना देखेका युवाहरुका लागि वित्तीय चेतना अत्यन्तै आवश्यक छ, जुन आवश्यकता बैंकिङ एक्स्पोले पूरा गर्नेछ । त्यस्तै, मेनेजमेन्ट पढेर आफैँ उद्यम सुरु गर्ने सोचिरहेका युवाहरुका लागि पनि उद्यम सुरु गर्ने, लागत जुटाउने, व्यवसाय बढाउने लगायतका आइडियाहरु बैंकिङ एक्स्पोले प्रदान गर्नेछ । 

नेपाल राष्ट्र बैंकको प्रवद्र्धन एवम् बीमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र माइक्रोफाइनान्स बैंकर्स संघसँगको सहकार्यमा मिडिया इन्टरनेशनलले उक्त सूचना मेलाको आयोजना गर्दैछ ।