December 13th, 2017

दोहोरो अंकले बढ्यो सेयर बजार, सबै उपसूचक हरियो

बैंकिङ खबर । साताको सुरुवातदेखि नै लगातार घटिरहेको सेयर बजार बुधबार दोहारो अंकले बढेको छ । सबै उपसूचक हरियो भएपछि नेप्से परिसूचक १०.५३ अंकको वृद्धिसँगै १५२०.७४ अंकमा पुगेको छ । सबैभन्दा धेरै बीमा समूह ५२.४८ अंकले बढेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः ८.१५, २.४५, ३८.०९, ५.७३, ९.८२, १.९४, ३२.८१, १०.४१ र १४.५६ अंकले बढेका छन् । 

कारोबार रकममा भने मंगलबारको तुलनामा गिरावट आएको छ । दिनभरिमा १६४ वटा कम्पनीको १० लाख ४३ हजार आठ सय ८७ कित्ता सेयर तीन हजार आठ सय ७७ पटक खरिदविक्री हुँदा ४८ करोड ५९ लाख ११ हजार दुई सय ९८ रुपैयाँको कारोबार भएको छ । मंगलबार ६६ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । 

ग्लोबल आईएमई बैंकको पाँच करोड, स्टान्डर्ड चार्टर्ड बैंकको तीन करोड तथा राष्ट्रिय बीमा कम्पनी प्रोमोटर र नेपाल टेलिकमको दुई करोडमाथिको सेयर कारोबार भएको छ । प्राइम बैंक, राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ बैंक प्रोमोटर, चिलिमे हाइड्रो, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

कुबेर मर्चेन्ट बैंकिङ र ललितपूर फाइनान्सका सेयरधनीले नौ प्रतिशत तथा बोटलर्स नेपाल र महुली सामुदायिक लघुवित्तका सेयरधनीले छ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । एनएमबि माइक्रोफाइनान्स, नयाँ नेपाल लघुवित्त, सूर्योदय लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, काबेली विकास बैंक, स्वदेशी लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले सबैभन्दा धेरै ३.९८ प्रतिशतका दरले गुमाएका छन् । खानीखोला हाइड्रो, नेपाल हाइड्रो, छ्याङ्दी हाइड्रो, मितेरी डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टिपर्पोज फाइनान्स, मिसन डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]