सुष्मा थापा/बैंकिङ खबर । बीमा कम्पनीहरुले योजनाअनुसार नै पुँजीवृद्धिको प्रक्रिया अघि बढाएका छन् । बीमा समितिले जीवन बीमा कम्पनीलाई दुई अर्ब र निर्जिवन बीमा कम्पनीलाई एक अर्ब चुक्तापुँजी पुर्याउने निर्देशन दिएको छ । यसका लागि आगामी असार मसान्तसम्मको समय दिइएको छ । सो अवधिभित्र तोकिएको पुँजी पुर्याउन बीमा समितिमा बुझाएको योजनाअनुसार बीमा कम्पनीहरुले प्रक्रिया पनि अघि बढाइसकेका छन् । सबै बीमा कम्पनी मर्जर तथा एक्विजिसनबिना नै पुँजी पुर्याउन लागीपरेका छन् ।
एलआईसी नेपालले पुर्यायो चुक्तापुँजी
चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको विवरणलाई हेर्दा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेडले तोकिएको चुक्तापुँजी पुर्याइसकेको छ । हाल, एलआईसी नेपालको चुक्तापुँजी तीन अर्ब नौ करोड ६४ लाख २८ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी पुँजीवृद्धि योजनाभन्दा अघि नै तोकिएको पुँजीभन्दा बढी थियो । हाल, कम्पनीको चुक्तापुँजी तीन अर्बबढी रहेको छ ।
पाँच कम्पनीको पुँजी छिटै पुग्दै
एउटा जीवन बीमा कम्पनी र चार वटा निर्जिवन बीमा कम्पनी गरी चार वटा कम्पनीले छिटै नै निर्धारित चुक्तापुँजी पुर्याउँदैछन् ।
प्रभु इन्स्योरेन्स लिमिटेड
प्रभु इन्स्योरेन्स लिमिटेडले ११ करोड १५ लाख रुपैयाँ बराबरको बोनस सेयर दिएर झन्डै ६९ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ भने ४६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभामार्फत पारित गरिसकेको छ । हकप्रद सेयर निष्काशन गरिसकेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब नाघ्नेछ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २९ प्रतिशत बोनस सेयर जारी गर्दैछ । हाल शिखर इन्स्योरेन्सको चुक्तापुँजी ८१ करोड ७६ लाख ६८ हजार तीन सय रुपैयाँ रहेको छ । उक्त पुँजीको २९ प्रतिशतले हुन आउने २३ करोड ७१ लाख २३ हजार आठ सय सात रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेपछि कम्पनीको चुक्तापुँजी एक अर्ब नाघ्नेछ ।
नेको इन्स्योरेन्स लिमिटेड
नेको इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३९ करोड २० लाख ९२ हजार आठ सय ११ रुपैयाँ बराबरको ३९ लाख २० हजार नौ सय २८ दशमलव ११ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि नेकोले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । १० प्रतिशत बोनस सेयर जारी गरेर ७८ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको कम्पनीको चुक्तापुँजी हकप्रद जारी गरेपछि एक अर्ब १७ करोड रुपैयाँ नाघ्नेछ ।
आईएमई जनरल इन्स्योरेन्स लिमिटेड
एनबी इन्स्योरेन्सबाट नाम र लोगो परिवर्तन गरी बनेको आईएमई जनरल इन्स्योरेन्स ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर ९७ करोड २० लाख पुर्याउने प्रक्रियामा रहेको छ । हकप्रद सेयर निष्काशनसम्बन्धी प्रस्ताव कम्पनीको साधारणसभाबाट पारित पनि भइसकेको छ । हकप्रदपछि पाँच प्रतिशत बोनस सेयर वितरण गरी बीमा समितिले तोकेको एक अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी पुर्याउने योजना कम्पनीको छ ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत अर्थात १० बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ९९ करोड ३६ लाख ४७ हजार सात सय ५४ रुपैयाँ बराबरको ९९ लाख ३६ हजार चार सय ७७ दशमलव ५४ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सो हकप्रद जारी गरिसकेपछि कम्पनीको चुक्तापुँजी दुई अर्ब ६४ करोड ९७ लाख २६ हजार रुपैयाँ पुग्नेछ ।
हकप्रद निष्काशनको प्रक्रियामा अन्य चार कम्पनी
प्रभु, नेको र नेशनल लाइफ र आईएमई जनरल इन्स्योरेन्स बाहेक अन्य पाँच कम्पनी पनि हकप्रद निष्काशनको प्रक्रियामा छन् । एशियन लाइफ, गुराँस लाइफ, प्राइम लाइफ र एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता गराइसकेका छन् । नेपाल इन्स्योरेन्स पनि हकप्रद निष्काशनको प्रक्रियामा छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४० करोड २७ लाख ९६ हजार छ सय २० रुपैयाँ बराबरको ४० लाख २७ हजार नौ सय ६६ दशमलव २० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी एक अर्ब २० करोड ८३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ । बाँकी पुँजी बोनस सेयर जारी गरेर पुर्याउने कम्पनीको योजना छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि ५० प्रतिशत अर्थात् दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति मागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २९ करोड ७० लाख रुपैयाँ बराबरको २९ लाख ७० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ । यसका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । हकप्रदपछि कम्पनीको चुक्तापुँजी ८९ करोड १० लाख रुपैयाँ पुग्नेछ । त्यसपछिको अपुग रकम हकप्रद र बोनस सेयरमार्फत पुर्याउने कम्पनीको योजना छ ।
प्राइम लाइफ इन्स्योरेन्स लिमिटेड
प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले १६० प्रतिशत अर्थात एक बराबर एक दशमलव ६० प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड दुई लाख रुपैयाँ बराबरको ६१ लाख दुई हजार कित्ता हकप्रद जारी गर्ने अनुमति मागेको छ । कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी एक अर्ब २२ करोड चार लाख रुपैयाँ पुग्नेछ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । कम्पनीको गत भदौ ३० मा सम्पन्न ६७ औं र ६८ औं बार्षिक साधारणसभाले पाँच प्रतिशत बोनसपछि शत प्रतिशत हकप्रद बिक्री गर्नेे निर्णय गरेको थियो । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । पाँच प्रतिशत बोनस सेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ । त्यसपश्चात शतप्रतिशत हकप्रद जारी गर्दा कम्पनीको पूँजी ६० करोड ३९ लाखको हाराहारीमा पुग्नेछ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड
एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले छ सय प्रतिशत अर्थात एक बराबर छ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनमति माग गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ७२ करोड ९० लाख रुपैयाँ बराबरको ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्तापुँजी १२ करोड १५ लाख रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि कम्पनीको चुक्तापुँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।
अन्य कम्पनीको चुक्तापुँजीको अवस्था
हिमालय जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव अघि सारेको छ । प्रस्तावित बोनस सेयर बीमा समितिबाट स्वीकृत भई कम्पनीको साधारणसभाले पारित गर्न बाँकी रहेको छ । हाल हिमालयनको चुक्तापुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ४४ करोड रुपैयाँ नाघ्नेछ । प्रुडेन्सियल इन्स्योरेन्सले १० करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गरेर ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १३ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गरेर ६६ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउँदै छ ।
यसबाहेक, एनएलजी इन्स्योरेन्सको चुक्तापुँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ भने सगरमाथा इन्स्योरेन्सको चुक्तापुँजी ५३ करोड रुपैयाँ रहेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा संस्थान र युनाइटेड इन्स्योरेन्सको चुक्तापुँजी क्रमशः ७८ करोड, ४४ करोड ८५ लाख, १८ करोड १० लाख र ३० करोड २४ लाख रुपैयाँ रहेको छ । राष्ट्रिय बीमा संस्थानले २०५८।५९ देखि २०६३।६४ सम्मको कमाईबाट ४२.११ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।
नयाँ कम्पनीहरुको पुँजी अवस्था
हालै संचालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्दैछ । आईपिओ जारी गर्ने प्रस्ताव कम्पनीको साधारणसभाले पारित पनि गरिसकेको छ । हाल, युनियनको चुक्तापुँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै, आईएमई लाइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको चुक्तापुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।




