November 3rd, 2017

चार वाणिज्य बैंकको घर कर्जा : कसको सुविधा कस्तो ?

रोयल आचार्य/बैंकिङ खबर
बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको व्याजदर आ–आफ्नै छ । सबै बैंक तथा वित्तीय संस्थाहरुको व्याजदर एउटै छैन । बैंक तथा वित्तीय संस्थाहरुले कर्जामा ग्राहकको आकर्षण ल्याउन आ–आफ्नै स्किमहरु सार्वजनिक गरिरहेका छन् । भर्खरै मात्र एनएमबी बैंकले ३५ बर्षे लामो अवधिको घर कर्जा दिने नयाँ योजना सार्वजनिक गरेको छ । अब हेरौँ एनएमबी, प्रभु, एनआईसी एशिया र लक्ष्मी बैैंकको घर कर्जा सुविधाबारे तयार पारिएको रिपोर्ट :

एनएमबी बैंक
एनएमबी बैंकले घर बनाउन अथवा नयाँ घर—जग्गा किन्नका लागि ३५ वर्षे लामो समय अवधि भएको आर्कषक घर कर्जा योजना ल्याएको छ । निम्न तथा मध्य आय भएका ग्राहकहरुलाई आफ्नो सपनाको घर बनाउन कम आर्थिक भार परोस भन्ने उद्देश्यले यो योजना ल्याएको बैंकले जनाएको छ । अतुलनिय ब्याज दर, न्युनतम मासिक किस्ता तथा लामो समय अवधि भएकाले समग्र ग्राहकवर्गलाई समेट्ने बैंकको विश्वास रहेकोे छ । ३५ वर्षे लामो समय अवधि भएको यो योजना नेपाली बैकिङ्ग क्षेत्रमै पहिलो तथा नौलो रहेको छ । बैंकले यस कर्जाको लागि १०.५ प्रतिशत व्याजदर तोकेको एनएमबी बैंक कल सेन्टरका शुरेस पाण्डेले बताए ।

प्रभु बैंक
प्रभु बैंकले न्युनतम् १०.५ प्रतिशतदेखि अधिकतम् ११.७५ प्रतिशतसम्म व्याजदरमा घर कर्जा उपलब्ध गराउने कर्जा शाखाका दिपक भुषालले बताए । भुषालले दिएको जानकारी अनुसार कर्जाको अवधि हेरेर १०.५ प्रतिशतदेखि अधिकतम् ११.७५ प्रतिशतसम्म व्याज लिने गरेको छ । बैंकले तीन बर्षदेखि २५ बर्षसम्मको अवधिका लागि घर कर्जा उपलब्ध गराउने समेत भुषालले जानकारी दिए ।

एनआईसी एशिया बैंक
एनआईसी एशिया बैंकले घर कर्जाका लागि न्युनतम ५ बर्षदेखि अधिकत् २५ बर्षसम्मको अवधिमा लगानी गर्ने जनाएको छ । बैंकले घर कर्जाका लागि १०.८ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने कर्जा शाखाकी स्वपनील अमात्यले बताइन् ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले अहिले दुई प्रकारको व्याजदरमा घरकर्जा दिइरहेको छ । बैंकले भइराखेको घर धितोमा राखी कर्जा लिन चाहनेका लागि १३.१६ प्रतिशतमा र नयाँ घर किन्नका लागि १२.६६ प्रतिशतमा घर कर्जा उपलब्ध गराउने कर्जा शाखाका शास्वत विक्रम राणाले बताए । राणाका अनुसार कर्जाको अवधि भने बैंकले अधिकतम् १५ बर्ष तोकेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]