केही दिनदेखि लगातार मन्द गतिमा रहेको सेयर बजारमा सोमबार उछाल आएको छ । नेप्से परिसूचक ४६.६२ अंकले बढेर १५६४.९० अंकमा पुगेको छ । व्यापारबाहेक कारोबार भएका सबै समूह बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा र अन्य समूह क्रमशः ४८.६६, ७८.०५, ५७.३६, ५२.५५, ९.९, २६४.७५ र ०.२८ अंकले बढेका छन् । व्यापार समूह भने ४.२२ अंकले घटेको छ ।
कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । दिनभरिमा १६३ वटा कम्पनीको १४ लाख ५६ हजार छ सय ३७ कित्ता सेयर चार हजार चार सय पटक खरिदविक्री हुँदा ६० करोड ५० लाख ७६ हजार दुई सय ४२ रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डूको सबैभन्दा धेरै १० करोडमाथिको कारोबार भएको छ । बुटवल पावर कम्पनीको साढे दुई करोडको कारोबार भएको छ । चिलिमे हाइड्रो, प्रभु इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स प्रोमोटर, नेशनल लाइफ इन्स्योरेन्स प्रोमोटर, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्सियल बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स र एनबि इन्स्योरेन्सका सेयरधनीले ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् भने महिला सहयात्रा माइक्रोफाइनानसका सेयरधनीले ८.०४ प्रतिशतले कमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ, सूर्या लाइफ इन्स्योरेन्स, मिसन डेभलपमेन्ट बैंक र अरुण फाइनान्सका सेयरधनीले ७ प्रतिशतभन्दा बढीका दरले कमाउँदा सनराइज बैंक, कुमारी बैंक लगायतका सेयरधनीले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् ।
जम्मा नौ कम्पनीका सेयरधनीले गुमाएका छन् । विशाल बजार, प्राइम बैंक प्रोमोटर, देवः विकास बैंक प्रोमोटर, नेशनल लाइफ इन्स्योरेन्स प्रोमोटर, रिलायबल माइक्रोफाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक्, गोर्खाज फाइनान्स, नविल इक्विटी फण्ड र नेपाल टेलिकमका सेयरधनीले गुमाएका हुन् ।

