Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

नेपालमा भारु नोट सटही : ५५ बर्षदेखिको मूल्य

२०७४ आश्विन २६ गते

बैंकिङ खबर / तपाईँले याद गर्नुभएको होला, नेपाली र भारतीय रुपैयाँको सटहीदर कहिल्यै परिवर्तन हुँदैन । डलर, युरो लगायतको मूल्य घटबढ भएको समाचार आइरहँदा पनि नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँको भाउ बढेको वा घटेको समाचार कहिल्यै आउने गरेको छैन । एक भारतीय रुपैयाँ बराबर भारतीय एक रुपैयाँ छ पैसा हुन्छ । नेपाली र भारतीय रुपैयाँबीचको यो सटहीदर ५५ वर्षदेखि कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराका अनुसार नेरु–भारु सटहीको यो दर वि.सं. २०१७ सालमा कायम गरिएको थियो । नेपाल राष्ट्र बैँकले ३ वर्ष समग्र देश र प्रदेशहरुमा भारुको माग र आपूर्तिको गहिरो अनुसन्धान गरी १ सय ६० को दरमा नेरु–भारु असीमित परिवत्र्य हुने सहज व्यवस्था २०१७ वैशाखदेखि लागू गरेको उनले बताए । निश्चित सटहीदर नहुँदा सट्टाबाजी बढ्दै गएको र साहु तथा विक्रेताहरुको मनपरी मोलभाउका कारण सर्वसाधारणलाई मर्का परेको तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको प्रथम गभर्नर जबराले बताए । यो दर लागू गरेको ५५ वर्षभन्दा बढी बितिसक्दा पनि अझै यही सटहीदर कायम रहेकोमा गर्व गर्दै प्रथम गभर्नर जबराले भने, ‘राष्ट्र बैंकले यथार्थवादी कदम चालेको रहेछ ।’

हिमालयन शमशेर जबरा, प्रथम गभर्नर, नेपाल राष्ट्र बैंक
मेरो ४ वर्ष ८ महिनाको कार्यकालमा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरु सम्पन्न गर्न सफल भइयो । उहिलेदेखि भारतीय रुपैँयामा कारोबार गरिने नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपैँयालाई चलनचल्तीमा स्थापित गर्न सफल भइयो । तराई प्रदेश नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अंग हो भन्ने तराईवासीहरुले अनुभव गर्न थाले । २०१६ सालमा नेरु–भारुको सटहीदर काठमाडौँको इन्द्रचोक र मखनटोलमा कारोबार गर्ने सराफी साहुहरुले आफैँलाई नाफा हुने गरी समयसमयमा सटही दर तोक्थे र त्यसमा सट्टावाजी पनि बढ्दै गएको थियो । सटहीको अस्थिरताले गर्दा बजारमा माल सामानको मोल साहु र विक्रेताहरुले बढाउने र आम जनताले महँगीको भार खेप्नुपर्ने परिदृश्य थियो । नेपाल राष्ट्र बैँकले ३ वर्ष समग्र देश र प्रदेशहरुमा भारुको माग र आपूर्तिको गहिरो अनुसन्धान गरी १ सय ६० को दरमा नेरु–भारु असीमित परिवत्र्य हुने सहज व्यवस्था २०१७  वैशाखदेखि लागू गरेको हो । त्यसबाट नेपालको उद्योगपति, व्यापारी र उपभोक्ताले नेरु–भारुको सटहीदरको अस्थिरताजन्य चिन्ता बेहोर्न नपर्ने भयो । यसले उनीहरुमा उत्साह बढायो । ५० वर्षभन्दा बढी मात्र नभएर हालसम्म यही सटहीदर कायम रहेकोमा बैँकले यथार्थवादी कदम चालेको रहेछ भनेर मलाई गर्व लाग्छ ।

यी दुबै कार्यक्रमहरु सम्पन्न गर्न राजमार्गहरु निर्माण भइनसकेको त्यस बेलाको नेपालमा धेरै चुनौतिहरु थिए र हाम्रो कार्यक्रम सफल हुन सक्दैन भन्ने धेरै थिए । तीमध्ये हाम्रो अनुरोधमा भारतको रिजर्भ बैँक अफ इन्डियाबाट सल्लाहकारको रुपमा राष्ट्र बैँकमा केही वर्ष कार्यरत श्री पई पनि थिए । हुन सक्छ र गराउँछु भनेर मैले उनीसँग ५ रुपैँयाको बाजी राखेको थिएँ । बाजी मैले जीतेँ २०१७ सालको असारतिर म कलकत्ता जाँदा उहाँ आएर मलाई भारु ५ दिनुभयो ।