दशैँपछि कारोबार खुलेको पहिलो दिन हरियाली छाएको सेयर बजारमा दोस्रो दिन नै दोहोरो अंकको गिरावट आएको छ । नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले, नेकपा माओवादी केन्द्रसँगै नयाँ शक्ति नेपालले आगामी निर्वाचनमा कार्यगत एकता र त्यसपछि पार्टी एकता गर्ने घोषणा गरेका थिए । उक्त घोषणाको नकारात्मक प्रभाव सेयर बजारमा देखिएको छ । त्यसमाथि, राष्ट्र बैंकमा आजदेखि सुरु भएको चरणवद्ध आन्दोलनका कारण पनि सेयर बजारमा उत्साह घटेको छ ।
बुधबार होटल, उत्पादनमूलक र अन्यबाहेक सबै समूह ओरालो लागेपछि समग्र नेप्से परिसूचकमा १३.७० अंकको गिरावट आएको छ । अहिले नेप्से परिसूचक १५४२.६५ अंकमा छ । बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स र बीमा समूह क्रमशः १७.४७, ३.८८, २२.८, २७.५७, २.९६ र ३५.२३ अंकले घटेका छन् भने होटल, उत्पादनमूलक र अन्य समूह क्रमशः २८.२१, ९.१४ र ६.३६ अंकले बढेका छन् ।
दिनभरिमा १४४ वटा कम्पनीको छ लाख ६० हजार ४३ कित्ता सेयर दुई हजार पाँच सय १९ पटक खरिदविक्री हुँदा २७ करोड ९७ लाख ५२ हजार आठ सय ६० रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र वरियन्टल होटल्सको एक करोडमाथिको सेयर कारोबार भएको छ । यसबाहेक, एनसीसी बैंकको ९० लाख, प्राइम बैंकको ८७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७६ लाख, रुरल माइक्रोफाइनान्सको ७६ लाख र नविल बैंकको ६८ लाख रुपैयाँको कारोबार भएको छ ।
दिव्यश्वरी हाइड्रोका सेयरधनीले ६.०४ प्रतिशतले कमाउँदा सिनर्जी पावरका सेयरधनीले ५.६३ प्रतिशतले कमाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम, सूर्या लाइफ इन्स्योरेन्स, बोटलर्स नेपाल, सोल्टी होटल, सृजना फाइनान्स, बरुण हाइड्रो, रिडी हाइड्रो, खानीखोला हाइड्रो लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, नेरुडे लघुवित्तका सेयरधनीले ६.४८ प्रतिशतका दरले गुमाएका छन् । कुबेर मर्चेन्ट फाइनान्स, एनआईसी एसिया बैंक, युनाइटेड मोदी हाइड्रो, चिलिमे हाइड्रो, छिमेक लघुवित्त, सिन्धु विकास बैंक, कैलाश विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, जनरल फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


