September 1st, 2017

फाइनान्सको संख्या १०/१२ वटामा खुम्चिन सक्छ

केहि समय अघिसम्म समस्याग्रस्त सूचिमा रहेको अरुण फाइनान्स कम्पनीलाई राष्ट्र बैंकले समस्याग्रस्त फाइनान्सहरुको सूचीबाट हटाईसकेको छ । समस्याग्रस्त फाइनान्स कम्पनीको सूचिबाट हटेसँगै यस कम्पनीले आफ्नो वित्तीय अवस्था सुधार गर्दै लगेको छ । हाल यस बैंकको प्रमुख कार्यकारी अधिकृत बिष्णु पाण्डे छन् । पाण्डे फाइनान्सको प्रमुख कार्यकारी अधिकृत पदमा करिब दुई महिनाअघि मात्रै नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव भएका पाण्डे सीईओमा नियुक्त भएसँगै कम्पनीको स्वरुप नै फेरिनै आँकलन गरिएको छ । यसैबीच अरुण फाइनान्स र समग्र फाइनान्स कम्पनीहरुको पछिल्लो अवस्था लगायतका विषयमा केन्द्रित रहेर उनै सीईओ पाण्डेसँग बैंकिङ खबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ :

अरुण फाइनान्स कम्पनीको वर्तमान अवस्था कस्तो छ ?
मैले अरुण फाइनान्स कम्पनीको जिम्मेवारी ग्रहण गरेको भर्खर दुई महिना मात्रै भयो । गत आर्थिक बर्षमा यस फाइनान्स कम्पनीको केहि सुरधारहरु भएका छन् । फाइनान्सको आर्थिक बर्ष २०७३÷७४ को वित्तीय विवरण सन्तोषजनक नै छ । यसअघि फाइनान्सको निष्कृय कर्जा ९० प्रतिशत रहेकोमा अहिले ७० प्रतिशतमा झरेको
छ । हामी असोज मसान्तसम्ममा यस्तो अनुपातलाई पाँच प्रतिशतमा झार्ने कोसिसमा छौँ । अहिले हामीले पुराना कर्जा असुलीमा बढी ध्यान दिएका छौँ । पछिल्लो समय फाइनान्समा डिपोजिटको आकर्षण पनि बढिरहेको छ । नयाँ तथा पुराना ग्राहकहरु आउने क्रम जारी रहेको छ । सबै शाखाहरुबाट हामीले कर्जा तथा निक्षेपको काम पनि गर्न थालेका छौँ । समग्रमा फाइनान्सको पछिल्लो अवस्था सुधारात्मक रहेको छ ।

अन्य फाइनान्सहरुको तुलनामा अरुण फाइनान्सको स्थिति कस्तो छ ?
अरुण फाइनान्सले स्थापनाको दुई दशक पार गरिसकेको छ । यो बीचमा कम्पनीको अवस्था नराम्रो भएको थियो । अहिले भने विस्तारै सुधार भइरहेको छ । तर पनि, अन्य फाइनान्स कम्पनीहरुको तुलनामा यो फाइनान्स राम्रो हो भन्ने अवस्थामा चाहिँ छैन । नेपालका कतिपय फाइनान्सहरु अझै पनि समस्याग्रस्त अवस्थामा छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने कूल फाइनान्स कम्पनीको संख्या ३० वटा छ । जसमध्ये, केहीको अवस्था मात्रै राम्रो छ । अरुण फाइनान्स राम्रो भन्दा पनि सुधारात्मक दिशामा अघि बढिरहेको छ ।

अरुण फाइनान्सले आफैँ पुँजी पुर्याउन सक्छ कि मर्जरमा जाने सोच्नुभएको छ ?
अरुण फाइनान्सले आफैँ राष्ट्र बैंकले तोकेको चुक्तापुँजी योजना बनाएको छ । यसका लागि हामीले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनको प्रक्रिया अघि बढाइसकेका छौँ । जसपश्चात्, हाम्रो चुक्ता पूँजी ३० करोड रुपैयाँ पुग्छ । त्यसपछि पनि पूँजी वृद्धिका लागि विभिन्न कामहरु गर्छौँ भनेर कार्ययोजना राष्ट्र बैंकमा पनि पेश गरिसकेका छौं । पूँजी पुर्याउनका लागि हामीलाई आन्तरिक कुनै समस्या छैन, हामी पूँजी पुर्याउन सक्छौैं । त्यसैले, मर्जरमा जाने वा ल्याउने भन्ने सोच हामीले अहिलेसम्म बनाएका छैनौँ ।  

अरुण फाइनान्स कम्पनीले सामाजिक क्षेत्रमा के–के गर्दैछ ?
हामी भर्खरै मात्र समास्याग्रस्त सूचिबाट निस्किएका छौँ । सामाजिक क्षेत्रमा अहिले नै केहि गरेका त छैनौँ । तर, आगामी दिनहरुमा अवश्य पनि सामाजिक सेवा गर्नेछौँ । सामाजिक क्षेत्रमा २ प्रतिशत लगानी गर्नुपर्ने राष्ट्र बैंकको प्रावधान छ । चालु आर्थिक बर्षदेखि हामी त्यसको पालना गर्नेछौँ ।

कम्पनीको भावी योजनाहरु के–के छन् ?
अहिले हाम्रो फाइनान्सको रिजर्भ फण्ड नेगेटिभमा छ । पहिले त यसलाई पोजिटिभ बनाउने सोच बनाएका छौँ । त्यसपछि निष्कृय कर्जा अनुपात ७० प्रतिशतबाट आगामी असोज मसान्तभित्रमा ५ प्रतिशतमा झार्ने योजना पनि बनाएका छौँ । हामीले कर्जा निष्कृय अनुपात ५ प्रतिशतमा झारेपछि शाखा विस्तार गर्ने मौका पाउछौँ । त्यसपछि भने शाखा विस्तारतर्फ लाग्छौँ । साथमा कर्मचारीहरुलाई दक्ष बनाउने, नयाँ दक्ष जनशक्ति थप गर्ने, ग्राहक संख्या बढाउने, ग्राहक आकर्षण गर्ने कर्जा सुविधा ल्याउने, राष्ट्र बैंकले तोकेको क्षेत्रमा लगानी बढाउने, नाफालाई अहिलेको भन्दा दुई गुणा बढी बनाउने आन्तरिक सुधारहरु तर्फ पनि ध्यान दिने हाम्रो योजना छ ।

फाइनान्स कम्पनीहरु निष्कृय भएर हो की, फाइनान्सको काम बैंकहरुले गरेर हो, फाइनान्स कम्पनीहरु कमजोर देखिए नि !
पहिलो कुरा त, फाइनान्स कम्पनीहरु निष्कृय छैनन् । वित्तीय पहुँचको कारण फाइनान्सहरु कमजोर जस्तो देखिएका हुन् । वाणिज्य बैंकहरुको शाखा सञ्जाल २०७४ असार मसान्तसम्मको तथ्यांक अनुसार दुई हजार १६ वटा रहेका छन् । तर ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुको शाखा संख्या भर्खर एक सय ४८ वटा पुगेको छ । बैंकहरुलाई विभिन्न काम गर्न सहज तथा पहुँचको हिसाबले अगाडी रहेका कारण बैंकहरुभन्दा फाइनान्स कम्पनी कमजोर देखिएको मात्र हो । वास्तवमा नेपालका फाइनान्स कम्पनीहरु पनि सबल र सकृय नै छन् ।

राष्ट्र बैंकको पुँजीवृद्धिको योजनाले फाइनान्स कम्पनीहरुको संख्या कतिमा खुम्चिएला ?
हाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ग वर्गका वित्तीय संस्था अर्थात फाइनान्स कम्पनीहरुको संख्या ३० रहेको छ । जसमध्ये, ६÷७ वटा फाइनान्स त समस्याग्रस्त अवस्थामा नै छन् । बाँकी फाइनान्समध्ये पनि केही एक्विजिसनमा जाने तयारीमा छन् । यस हिसाबले हेर्दा, फाइनान्स कम्पनीहरुको संख्या १०÷१२ वटामा खुम्चिन्छ जस्तो मलाई लाग्छ ।

नेपालमा वित्तीय क्षेत्रका समस्याहरु के–के छन् ? नेपालको वित्तीय प्रणालीलाई यहाँले कसरी मूल्यांकन गर्नुभएको छ ?
नेपालको वित्तीय प्रणालीमा समिक्षा गर्नुपर्ने धेरै लामो कुराहरु छैनन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत राम्रा कुराहरु ल्याएको छ । संघीय संरचनामा निर्माण भएका स्थानीय तहहरुमा बैंकिङ पहुँच पुर्याउने बिषयमा सरकारले वाणिज्य बैंकहरुलाई अनिवार्य गर्ने निर्णय गरेकोमा भने मेरो असहमति छ । राष्ट्र बैंकले ‘ग’ वर्गका वित्तीय संस्थाहरुलाई पनि स्थानीय तहमा लैजान प्रोत्साहन गर्नुपर्छ । यहाँ तिमीहरुले जानुपर्छ भनेर बैंक तथा वित्तीय संस्थालाई भेदभाव नगरी निर्देशन दिनुपर्छ । राष्ट्र बैंकले विभिन्न परिपत्रहरु जारी गर्छ । तर, त्यसको कार्यान्वयन भएको छ कि छैन भन्ने बिषयमा पनि नियमनकारी निकायले बढी ध्यान दिनु जरुरी हुन्छ । केहि दिनअघि निक्षेपको दोहोरो तेहरो गणना भयो भन्ने कुरा आएको थियो, त्यसमा बैंकहरुले तुरुन्तै रियाक्ट पनि गरेका थिए । राष्ट्र बैंकले नीतिहरु समय सापेक्ष सुधार गर्ने हो भने मुलुकको वित्तीय प्रणालीमा सुधार आउँछ । पछिल्लो समय धेरै सुधारहरु पनि भएका छन् । प्राथमिकताका क्षेत्रहरुमा अनिवार्य कर्जा, विपन्न वर्गमा अनिवार्य कर्जा, १० लाखभन्दा बढी नगद कारोबारमा रोक लगायतका राम्रो नियम राष्ट्र बैंकले बनाएको छ । अब नेपालको वित्तीय प्रणाली सुधार हुन्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]