यो साता नेप्सेको सुखद सुरुवात भएको छ । फाइनान्स बीमा र अन्यबाहेक सबै उपसूचक बढ्दा समग्र नेप्से परिसूचक पनि ४.५१ अंकले बढेर १६२२.३२ अंकमा पुगेको छ । उत्पादनमूलक, विकास बैंक, जलविद्युत्, बैंकिङ र होटल समूहले आइतबारको बजार बढाएका छन् । यी समूहहरु क्रमशः ३२.१६, १२.१२, ११.४५, ७.१४ र ६.२७ अंकले बढेका छन् । बीमा, अन्य र फाइनान्स भने क्रमशः ३४.१९, ६.३६ र १.३ अंकले घटेका छन् ।
परिसूचक बढेपछि कारोबार रकममा पनि सुधार आएको छ । दिनभरिमा १६५ वटा कम्पनीको २७ लाख २६ हजार ८२ कित्ता सेयर १० हजार दुई सय ७५ पटक खरिदविक्री हुँदा ८१ करोड ५१ लाख ६४ हजार आठ सय ३६ रुपैयाँको कारोबार भएको छ । जसमध्ये, नविल बैंकको साढे पाँच करोडमाथिको कारोबार भएको छ भने सिटिजन्स बैंक र प्राइम लाइफ इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ । एनआईसी एसिया बैंकको झन्डै तीन करोडको कारोबार हुँदा स्टान्डर्ड चार्टर्ड बैंक, आरएसडीसी लघुवित्त, नविल बैंक प्रोमोटर, जनता बैंक र हिमालयन पावर पार्टनरको दुई करोड तथा नेपाल लाइफ इन्स्योरेन्सको एक करोड ८८ लाखमाथिको कारोबार भएको छ ।
सृजना फाइनान्स, हिमालयन पावर पार्टनर र स्वरोजगार लघुवित्तका सेयरधनीले १० प्रतिशत तथा समिट माइक्रोफाइनान्स र हिमालयन डिस्टीलरीका सेयरधनीले क्रमशः ९.९७ र ९.९३ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् । कुबेर मर्चेन्ट फाइनान्स, लक्ष्मी लघुवित्त र वोमी माइक्रोफाइनान्सका सेयरधनीले क्रमशः ६.५७, ५.७८ र ५.६८ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी पावर, वरियन्टल होटल्स लगायतका सेयरधनीले पनि कमाएका छन् ।
यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको नविल ब्यालेन्स फण्डका सेयरधनीले १०.०१२७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाउँदा जनरल फाइनान्स र सिन्धु विकास बैंकका सेयरधनीले क्रमशः ९.६९ र ७.२० प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, रिलायन्स फाइनान्स, ज्योति विकास बैंक, हाम्रो विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, जलविद्युत लगानी तथा विकास कोष, मञ्जुश्री फाइनान्स, तारागाउँ रिजेन्सी लगायत ७१ कम्पनीका सेयरधनीले गुमाएका छन् ।