साताको सुरुवात वृद्धिबाट गरेको सेयर बजार दोस्रो दिनदेखि निरन्तर गिरावटको क्रममा रह्यो । अस अनुसार, गत साताको अन्तिम दिन १६६०.५८ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १६५३.५३ अंकमा बन्द भएको छ । यस आधारमा हेर्दा, यो साता नेप्से ७.०५ अंकले घटेको छ । गत साता नेप्से १४.०५ अंकले बढेको थियो ।
परिसूचक घटेपछि कारोबार रकममा पनि गिरावट आएको छ । साताको आइतबारबाहेक सबै दिन एक अर्बभन्दा कमको सेयर कारोबार भएको छ । चार दिन कारोबार भएको यो साता समग्रमा तीन अर्ब ८० करोड १५ लाख २३ हजार नौ सय १५ रुपैयाँको कारोबार भएको छ । गत साता सवा ५ अर्बको कारोबार भएको थियो ।
यो साता नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, स्टान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम लगायतको धेरै कारोबार भएको छ । बजार ओरालो लागेपछि यो साता थोरै कम्पनीले मात्रै सम्पत्ति बढाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट एण्ड ग्रोथ स्किम, प्रोग्रेसिभ फाइनान्स, ललितपूर फाइनान्स लगायतका सेयरधनीले कमाउँदा कुबेर मर्चेन्ट फाइनान्स, लक्ष्मी भ्यालु फण्ड, छ्याङ्दी हाइड्रो लगायतका सेयरधनीले गुमाएका छन् ।